
रियाद : मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै साउदीको रियादस्थित नेपाली दूतावासले साउदी अरेबिया र यमनमा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अनलाइन पोर्टलमा दर्ता गर्न आग्रह गरेको छ ।
दूतावासद्वारा जारी सुचना अनुसार परराष्ट्र मन्त्रालयले आपतकालीन अवस्थामा विदेशमा रहेका नेपाली नागरिकको अवस्थाबारे जानकारी संकलन गर्न तथा आवश्यक परे उद्धार र समन्वय कार्यलाई सहज बनाउन 'अर्जेन्ट रेस्क्यु' नामक पोर्टल सञ्चालनमा ल्याएको हो ।
दूतावासले साउदी अरेबिया तथा यमनमा बसोबास गरिरहेका सबै नेपाली नागरिकलाई उक्त पोर्टलमा आफ्नो व्यक्तिगत विवरण अनिवार्य रूपमा दर्ता गर्न अनुरोध गरेको छ । विवरण दर्ताका लागि https://legal.nepalconsular.gov.np/urgent-rescue लिंकमा प्रवेश गरी पासपोर्टअनुसार पूरा नाम, पासपोर्ट नम्बर, हाल बसोबास गरिरहेको देश र शहर, मोबाइल वा ह्वाट्सएप नम्बर तथा आफू कार्यरत कम्पनी वा पेशासम्बन्धी जानकारी उल्लेख गरी ‘सबमिट’ गर्नुपर्नेछ ।
यसरी विवरण दर्ता गरेपछि आवश्यक परेमा नेपाल सरकार तथा दूतावासलाई विदेशमा रहेका नेपाली नागरिकको अवस्थाबारे अद्यावधिक जानकारी राख्न र उद्धार तथा समन्वय कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने दूतावासले जनाएको छ ।
