तेजबहादुर बन/मध्यान्ह
इटहरी, १८ माघ । सार्वजनिक जग्गा मिचेर बनाइएका १५ वटा घरहरू इटहरी उपमहानगरले ड्रोजर लगाएर भत्काएको छ । ६ लेन राजमार्ग परियोजना अन्तर्गत सडकको मापदण्ड भित्र बनेका घरहरूमा उपमहानगरले डोजर लगाएर भत्काइरहेको छ । राजमार्गलाई फराकिलो बनाउन र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन उच्च अदालत विराटनगरले आन्तरिक आदेश जारी गरे लगत्तै उपमहानगरले त्यस्ता संरचनाहरूमा डोजर लगाउन थालेको हो ।
माघ १३ गतेदेखि चलेको यस अभियान अन्तर्गत ६ दिनको अवधिमा इटहरी वडा नम्बर ९ को १५ वटा घरहरू डोजर लगाएर भत्काइएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले बताए । शुरूवाती समयमा सामान्य विवाद देखिएपनि विकाश निर्माणका कामहरूमा अवरोध नगर्न अनुरोध गरेसँगै सडक क्षेत्रभित्र पर्ने घरहरू स्थानीय आफैले भत्काउन थालेका छन् । अदालतको आदेश अनुरूप राजमार्ग क्षेत्रमा पर्ने घरहरू अहिले भतकाउन थालिएको मेयर पौडेल बताउँछन । अहिले सम्म १५ वटा घरहरू भत्काइसकिएको मेयर पौडेलले बताए ।
इटहरी ९ मा करीब घरहरू भत्काउने कार्य सकिएको र ६ नम्बर क्षेत्रमा शुरूवात गर्न लागिएको पनि मेयर पौडेलले बताए । ‘६ नम्बर वडामा ३० वटा भन्दा बढी घरहरू राजमार्ग क्षेत्रमा परेका छन्, ति सबैमा डोजर चल्छ’ मेयर पौडेलले भने । राजमार्ग ओगटेर बनाइएका वडा नम्बर ६ का घरधनीहरूलाइ १५ दिनभित्र सर सामान सारिसक्न उपमहानगरले अनुरोध गरेको छ । १५ दिनभित्र सामान नसारी अटेर गरे उपमहानगर जिम्मेवार नहुने र सोहि अवस्थामा डोजर चल्ने बताइएको छ ।
सडक परियोजना अन्तरगत ५५ फुट कायम हुने गरी गत शुक्रबारदेखि डेजर चलाइएको उपमहानगरले जनाएको छ । अघिल्लो वर्ष धरान रोडमा ५५ फुट कायम गरी सडक विस्तार गरिएकोमा विराटनगर रोड भने त्यतिकै छोडिएको थियो । घरधनीहरूले जग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै सडक बिस्तारमा अवरोध गर्दै आएका थिए ।
पटक–पटकको अवरोध र विवादकै कारण लामो समयदेखि ६ लेन राजमार्ग इटहरीमा स्थकित हुदै आएको थियो । इटहरीसँगै सुनसरीको दुहबी र धरानमा पनि राजमार्ग विस्तार बारे छलफल चलिरहेको ६ लेन परियोजनाको कार्यालय विराटनगरले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies