
लिस्बन : युरोपेली मुलुक स्पेनमा ‘स्पेन आध्यात्मिक महोत्सव’ हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको आयोजनामा आगामी अप्रिल ५ तारिख देखि बार्सिलोनाको सालोन एल प्रादो, अल्मिरान्तेमा आध्यात्मिक महोत्सव हुने भएको हो । बार्सिलोनामा नेपाल घर ’मन्दिर’ निर्माण गर्ने उद्देश्य अनुरुप आध्यात्मिक महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक एवं एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
नेपाल घर (मन्दिर) निर्माण गर्नका लागि करिब एक लाख ८० हजार युरो लागत लाग्ने अनुमान गरिएको र महोत्सवबाट झण्डै दुई लाख युरो संकलन गर्ने लक्ष्य राखिएको उनले बताए । सामाजिक, सांस्कृतिक तथा धार्मिक कार्यका लागि साझा केन्द्र स्थापना गर्ने लक्ष्यसहित बार्सिलोनामा ‘नेपाल घर’ निर्माण गर्न लागिएको श्रेष्ठले बताए ।
महोत्सवका लागि आवश्यक सामग्री नेपालबाट ल्याउने तयारी भइरहेको र स्पेनवासी नेपाली समुदाय उत्साहका साथ महोत्सवको तयारीमा जुटिरहेको उनले बताए । कार्यक्रममा सहभागी भइ महोत्सवलाई भव्यताका साथ सफल पार्न संयोजक श्रेष्ठले स्पेनवासी नेपाली समुदायलाई विशेष आग्रह समेत गरेका छन् । महोत्सवले प्रवासमा धार्मिक तथा सांस्कृतिक परम्परालाई जगेर्ना गर्नुका साथै नेपाली भाषा, कला र संस्कृतिको प्रवर्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा प्रमुख वाचकका रूपमा पण्डित दीनबन्धु पोखरेल नेपालबाट स्पेन आउने कार्यक्रम तय भएको आयोजक संस्थाले जनाएको छ । महोत्सवमा श्रीमद्भागवतसहित वेद र बौद्ध दर्शनमा आधारित रहेर पण्डित पोखरेलले प्रवचन दिने बताइएको छ । महोत्सव आगामी ९ अप्रिलसम्म सञ्चालन हुने संघले जनाएको छ ।