
रौतहट : फागुन २१ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रौतहटसँग जोडिएको नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सोमबार राति १० बजेदेखि लागू हुने गरी सीमा क्षेत्रमा आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।
निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि, घुसपैठ र सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न दुवै देशका सुरक्षा अधिकारीहरूको समन्वयमा नाका सिल गरिएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार सीमा बन्द भए पनि स्वदेश फर्कने नेपाली नागरिकका लागि भने केही लचकता अपनाइएको छ । भारतबाट नेपालतर्फ प्रवेश गर्ने नेपालीहरूले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात नागरिकता वा मतदाता परिचयपत्र देखाएर जाँचबुझ गराएपछि मात्र प्रवेश पाउने व्यवस्था मिलाइएको छ ।
अन्य सबै प्रकारका सर्वसाधारण तथा सवारी साधनको आवतजावतलाई भने अस्थायी रूपमा पूर्ण रोक लगाइएको छ । निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सीमा क्षेत्रमा सुरक्षा गस्तीलाई तीव्र बनाइएको छ । प्रजिअ भुसालले भन्ने, ‘सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले २४ सै घण्टा निगरानी गरिरहेको छ । कुनै पनि उच्छृंखल गतिविधि हुन नदिन र मतदान प्रक्रियालाई सुरक्षित बनाउन हामी पूर्ण रूपमा कटिबद्ध छौं ।’
जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारीहरू पुगिसकेको र सुरक्षाको थ्री–लेयर मोडल परिचालन गरिएको प्रशासनले जनाएको छ । निर्वाचन अवधिभर कसैले पनि कानुन हातमा लिन खोजे वा निर्वाचन बिथोल्ने प्रयास गरेमा कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ । रौतहटमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन्, जहाँ ५ सय ४१ मतदान केन्द्र र २ सय ७७ मतदान स्थलहरू तोकिएका छन् ।