
साउदी : गम्भीर प्रकृतिको क्यान्सर रोगसँग जीवन–मृत्युको संघर्ष गरिरहेका पाल्पा जिल्लाका जीत बहादुर नेपाली (गैरे) का लागि साउदी अरबमा कार्यरत नेपालीहरूले मानवीय सहयोग जुटाएका छन् । साउदीमा कार्यरत समाजसेवी पदम बहादुर महत र बिरेन्द्र कुमारी चौधरीको पहलमा संकलित रु. १ लाख १३ हजार ८६४ रकम पीडितको उपचारका लागि नेपाल पठाइएको हो ।
समाजसेवी चौधरीका अनुसार संकलित रकम हाल पीडितको बैंक खातामा पठाइसकिएको छ । सहयोग अभियान अझै जारी रहेको बताउँदै उनले केही सहयोग रकम संकलन हुन बाँकी रहेकाले निकट भविष्यमा थप रकम पनि पठाइने जानकारी दिए । साथै उनले मानवीय अभियानमा साथ दिने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद तथा हार्दिक आभार व्यक्त गरे।
पाल्पाको साविक दर्छा गाउँ विकास समिति–१, हाल रामपुर नगरपालिका–३ स्थायी घर भएका ४३ वर्षीय जीत बहादुर नेपाली (गैरे) साउदी अरबस्थित पिज्जा सप नामक कम्पनीमा कार्यरत थिए । परिवारको भविष्य सुरक्षित बनाउने आशासहित वैदेशिक रोजगारीमा रहेका उनी अचानक क्यान्सर रोगबाट पीडित भएपछि आर्थिक संकटमा परेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रारम्भिक उपचार साउदी अरबमै गरिएको थियो । तर रोग जटिल बन्दै गएपछि थप उपचार सम्भव नभएपछि उनलाई नेपाल ल्याइएको परिवारले जनाएको छ। हाल उनको भरतपुर क्यान्सर अस्पतालमा निरन्तर उपचार भइरहेको छ ।
चिकित्सकका अनुसार उपचार प्रक्रिया लामो र अत्यन्त खर्चिलो भएकाले कमजोर आर्थिक अवस्थाका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिन भइरहेको छ ।
परदेशमा श्रम गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएका श्रमिकको जीवन बचाउन सबैमा मानवीय सहयोग आवश्यक रहेको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको छ । “सानो सहयोगले पनि एउटा अमूल्य जीवन जोगाउन ठूलो भूमिका खेल्न सक्छ,” परिवारजनले बताएका छन् ।
पीडितको अवस्था गम्भीर रहेकोले सम्पूर्ण सहयोगी मनहरूलाई सकेको सहयोग गरी जीवन बचाउने अभियानमा साथ दिन परिवारले हार्दिक अनुरोध गरेको छ । सहयोग अभियानले पीडित परिवारमा नयाँ आशा र भरोसा थपेको बताउँदै परिवारले सबैको सहयोग, सद्भाव र प्रार्थनाप्रति कृतज्ञता व्यक्त गरेको छ ।