
साउदी अरब : साउदी अरबको मदिनामा केही दिनदेखि अलपत्र परेका नेपाली उम्रा तीर्थयात्रीहरूलाई जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ । मध्यपूर्व क्षेत्रमा उत्पन्न तनावका कारण विभिन्न उडानहरू प्रभावित भएपछि तीर्थयात्रीहरू निर्धारित समयमा नेपाल फर्किन नसकी समस्यामा परेका थिए ।
जानकारी अनुसार, फेब्रुअरी १७ मा एक ट्राभल कम्पनीमार्फत ३६ जनाको नेपाली समूह धार्मिक तीर्थयात्रा (उम्रा) का लागि मक्का र मदिना आएको थियो । कपिलवस्तुका मोहम्मद ताहिर अलीको नेतृत्वमा आएको उक्त टोलीले तीर्थयात्रा सम्पन्न गरेपछि मार्च ३ मा नेपाल फर्कने योजना बनाएको थियो। तर क्षेत्रीय परिस्थितिका कारण उडानहरू रद्द भएपछि उनीहरू मदिनामै रोकिन बाध्य भएका थिए ।
समूहका केही सदस्यहरू आफ्नै खर्चमा वैकल्पिक मार्ग प्रयोग गरी स्वदेश फर्किए पनि बाँकी २९ जना आर्थिक अभावका कारण पुनः टिकट खरिद गर्न नसकी मदिनामै अलपत्र परेका थिए । लामो समयसम्म बसोबास र खानपानको व्यवस्थामा समेत समस्या देखिएपछि उनीहरूले अन्ततः जेद्दास्थित नेपाली महावाणिज्य दूतावाससँग सहयोग मागेका थिए ।
घटनाबारे जानकारी पाएपछि दूतावास सक्रिय भई प्रभावित नेपालीहरूलाई आवश्यक सहयोग उपलब्ध गराएको थियो । कार्यवाहक महावाणिज्यदूत पारस पण्डित, वाणिज्यदूत सुवास यादव तथा प्रतिनिधि शौकत अलीको टोली मदिना पुगेर तीर्थयात्रीहरूको बसोबास र भोजनको व्यवस्थापन मिलाएको बताइएको छ ।

दूतावासको समन्वयमा ती नेपालीहरूलाई मदिनाबाट बसमार्फत रियाद लगिएको छ । त्यहाँबाट निर्धारित उडानमार्फत उनीहरूलाई नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको दूतावास स्रोतले जनाएको छ ।
अप्ठ्यारो अवस्थामा समयमै पहल गरी स्वदेश फिर्तीको व्यवस्था मिलाइदिएकोमा तीर्थयात्रीहरूले नेपाली महावाणिज्य दूतावासप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले दूतावासका अधिकारीहरूलाई धन्यवाद दिँदै सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।