२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सामाजिक सञ्जालमा भाइरल राजनीति : जोसमा बोले, अहिले ट्रोलको सिकार

shivam cement
भावना पाठक
२०८२ फागुन २८ गते ११:३१
Shares
सामाजिक सञ्जालमा भाइरल राजनीति : जोसमा बोले, अहिले ट्रोलको सिकार

काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचन सकिएको छ । अन्तिम मतपरिणाम पनि आइसक्यो । फागुन २१ को निर्वाचन अरू निर्वाचनभन्दा फरक र रोचक रह्यो । स्थापनाको लगभग तीन वर्षमात्र भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत पायो । कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका ठुला र पुराना दल यो निर्वाचनबाट खुम्चिएका छन् । 

८४ सालमा हुनुपर्ने निर्वाचन ८२ सालमा भयो । यो निर्वाचन सामाजिक सञ्जालमा अति निर्भर रहेको जस्तो पनि देखियो । जालझेल, भ्रम र भाइरल कन्टेन्ट निर्वाचन प्रचारप्रसारको माध्यम बन्यो । आफूलाई मन परेको दल र उम्मेदवारका लागि जे पनि गर्न तयार रहेको सन्देश फैलाइयो । निर्वाचन  परिणाम सामान्य आकलनभन्दा भिन्न आएको राजनीतिक विश्लेषकहरू बताउँछन् । त्यही आकलन नमिल्दा आफ्ना दल र उम्मेदवारका बारेमा आँखा चिम्लेर प्रचारप्रसार गर्नेहरू अहिले ट्रोल भइरहेका छन् । 

काठमाडौँ महानगरको कार्यकाल पुरा नहुँदै बिचमै छाडेर झापा निर्वाचन क्षेत्र नम्बर -५ पुगेका बालेन शाहले चुनाव जितिहाल्छन् भनेर भन्न सक्ने अवस्था थिएन । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँग टक्कर लिन काठमाडौँबाट झापा पुगेका बालेन चुनाव हार्छन् भन्ने एउटा समूह थियो भने केपी ओली हार्छन् भन्ने अर्को समूह । यसैबीच सामाजिक सञ्जालमा कसले हार्ने र कसले जित्ने भन्ने लहड चल्यो । 

अर्को रोचक पक्ष त के छ भने बालेनले जिते म कान काटेर फाल्दिन्छु, कानमा लगाएको सुनसमेत बालेनलाई उपहार दिन्छु भनेर ओलीप्रति विश्वास जताइयो । जित्छन् वा हार्छन् भन्नु फरक कुरा हो तर हुनै र गर्नै नसक्ने बाचा गरेर सामाजिक सञ्जालमा भाइरल हुन जे पनि बोल्न थालियो । जब बालेनले चुनाव जिते कान काट्छु भन्ने रेनुका बराल नाम गरेकी महिलालाई बालेनका समर्थकले बाटो छेकेरै ‘लौ कान काट’ भनेर र्‍याखर्‍याख्ती पार्न थाले । अहिले ति महिला युट्युव च्यानलमा अन्तर्वार्ता दिँदैछिन् । भाइरल भएपछि राम्रोसँग निदाउन नसकेको भन्दै उनी आफ्नो ज्यानको मासुसमेत घटेको बताउँछिन् । 

उनले देशमा एमाले रहे पनि नरहे पनि आफू सधैँ एमाले रहने बताईन् । एमाले र केपी ओलीको मायाले आफूले त्यस्तो बोलेको भए पनि बालेनले चुनाव जितेपछि बाटोमा हिंड्नसमेत गाह्रो परेको उनले गुनासो गरिन् । उनले विभिन्न अन्तर्वार्तामा केपी ओली र राधिका शाक्यलाई परि आए आफैंले पाल्ने पनि बताउँदै आएकी छन् । हुन पनि देशको प्रधानमन्त्री भइसकेको मान्छे, अघिल्ला चुनावमा लोकप्रिय मत पनि पाइरहेका थिए हार्छन् भनेर कसरी विश्वास गर्नु ? त्यही विश्वास नै उनको लागि अहिले गलाको पासो जस्तै भएको छ । 

त्यस्तै झापाकै विषयमा रामकृष्ण नेपाल नाम भएका एक पुरुषले पनि ३० हजारको खसी काट्ने भन्दै दिएको अभिव्यक्ति भाइरल भइरहेको छ । बालेनले जिते ३० हजारको खसी काट्ने उनको भनाइ थियो । अहिले ‘खै खसी’ भन्दै उनको फोटो र भिडियोको ट्रोल बनाइएको छ । खसी दिन्छु भन्ने मान्छे कता पुगिसके, यता सामाजिक सञ्जालमा खसी चाहियो भनेर थुप्रै भिडियोहरू बनिसके । 

यसपालिको निर्वाचनको इपिसेन्टर हो झापा -५ । यही क्षेत्रसँग सम्बन्धित भिडियो बढी भाइरल भएका छन् । ‘झापामा ओलीले हारे र बालेन जिते गुहु खान्छु’ भनेर सामाजिक सञ्जालमा चर्चामा रहेका रवि चुडालले बोलेको भिडियो पनि यतिबेला सामाजिक सञ्जालमा देख्न सकिन्छ । बालेनको जित र ओलीको हारपछि उनलाई ‘गुहु’ खुवाउनुपर्छ भनेर पछि लाग्नेहरू पनि छन् । ‘बालेनले चुनाव जित्दै जित्दैन’ भनेर बोलिरहेको भिडियोले अहिले उनलाई सास्ती बनाएको छ । 

त्यतिमात्र हैन बालेनले ५ हजार मत कटाए फूलको माला लाईदिने, केपी ओलीले हारे इलाम छोडेर हिड्ने भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालभरि देख्न सकिन्छ । कतिले त देशै छोड्छुसमेत भनेका छन् । इलाम छोड्छु भन्ने एक पुरुष त आफ्नो पुर्ख्यौली घरतिर लागेको भन्ने भिडियो पनि भाइरल भएका छन् । 

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले जम्मा ७ सिट जित्ने, त्यो पनि धेरै हो भन्दै औंला भाँचेरे पत्रकारलाई दिएको अन्तर्वार्ता पनि अहिले भाइरल बनेको छ । रास्वपाको ७ सिट आउँछ भनेर ठोकुवा गर्ने ओलीको आफ्नै पार्टीको प्रत्यक्षमा मुस्किलले ९ सिट मात्र आएको छ । आफ्नै पार्टीको भविष्यवाणी गरेको भन्दै ओलीको पनि ट्रोल भइरहेको छ । 

जेनजी आन्दोलनका स्टेकहोल्डर बताउने सुदन गुरुङ गोरखाबाट चुनाव लडे र जिते पनि । प्रचारप्रसारका क्रममा पसलमा शो गरिराखेको डमीलाई समेत उनले भोट माग्दै गरेको दृश्य पनि भाइरल भएको थियो । जेनजी आन्दोलनदेखि नै ट्रोलको सिकार भएका गुरुङलाई सामाजिक सञ्जालले मज्जाले प्रचार गर्‍यो । 

समर्थकहरूमात्र हैन यो निर्वाचनमा उम्मेदवार स्वयं नै ट्रोलको सिकार भएका यस्ता धेरै उदाहरण छन् । कुलमानको उज्यालो नेपाल पार्टीबाट रास्वपा सिफ्ट भएकी अभिनेत्री रीमा विश्वकर्मा पनि यस्तै ट्रोलको सिकार भएकी थिइन् । ‘म इमानको राजनीति गर्छु’, ‘यदि यहाँका उम्मेदवार जिताउनुभो भने पार्टीका वरिष्ठ नेता र सभापतिलाई जिल्लाको भ्रमण  गराउँछु’ जस्ता उनका अभिव्यक्ति र अनुहारभावलाई पनि खुबै प्रचार गरिएको थियो । 

सर्लाही -४ पनि यो निर्वाचनको चर्चित क्षेत्र हो । नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं यो क्षेत्रबाट उम्मेदवार थिए । अमरेशकुमार शिंह रास्वपाबाट थापालाई टक्कर दिईरहेका थिए । ‘बालेनलाई प्रधानमन्त्री बनाईदेउ’, ‘बालेन प्रधानमन्त्री नभए आत्महत्या गर्छु’, मैले हारे भने आत्महत्या गर्छु’ जस्ता उनका चुनावी फन्डा थिए । हुन त उनले चुनाव जिते । यदि हारेका हुन्थे भने उनलाई आफ्नै बोलीले निकै परसम्म लखेटेको हुन्थ्यो । 

यो निर्वाचनमा पत्रकारबाट सांसद भन्ने महत्वाकांक्षा बोकेर रौतहट पुगेका ऋषि धमलाको जति ट्रोल सायदै अरू उम्मेदवारको भयो होला । धमलाले रौतहट पुगेर, उखु काटे, जेरी पकाए, करौती चलाए, स्थानीयसँग दुखमा रोए, खुसीमा हाँसे र नाँचे पनि । जनताको मन जिते तर मत तान्न सकेनन् । उनी निर्वाचनको प्रचारप्रसार अवधिभर नै सामाजिक सञ्जालमा छाईरहे । 

यता प्युठानबाट चुनाव लडेका एमाले नेता सूर्य थापा पनि यो निर्वाचनमा कम ट्रोल भएनन् । गलामा लगाएको मालाको संख्याभन्दा थोरै मत पाएका उनी ‘म पनि जेनजी हुँ’ भन्दै घरदैलो गरिरहेका थिए । घाँस काट्ने, तरकारी काट्ने, दुध दुहुने उनले अनेक गरे तर मत पाएनन् । अहिले अनुहार छोपिने गरी उनले माला लगाएको फोटो, भिडियो शेयर गर्दै सामाजिक सञ्जाललमा ट्रोल भइरहेको छ ।

यो निर्वाचनमा नेताभन्दा जनता बाठा भएको भनेर पनि मूल्यांकन गर्न थालिएको छ । सधैँ नेताले झुक्याउँथे यो पाली जनताले झुक्याए पनि भनिन्छ । जसले जसलाई झुकाए पनि निर्वाचन अवधिभर सामाजिक सञ्जाल यस्तै रंगीबिरंगी फोटो भिडियोले चलायमान भयो । भ्रामक भिडियो, चरित्रहत्या, एआईको दुरुपयोग गरी तोडमोड गरिएका भिडियोले सामाजिक सञ्जालका प्रयोगकर्तालाई नराम्रोसँग झुक्यायो । निर्वाचनको प्रचारप्रसार गर्ने प्रमुख माध्यम बनेको सामाजिक सञ्जाललले भाइरल कन्टेन्टलाई बढी फैलायो । 

ताजा खबर

सम्बन्धित खबर