
नवलपरासी : पश्चिम नवलपरासीमा रासायनिक मल अभावको गुनासो चुलिँदै गएको बेला नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्ता फिल्डमै सक्रिय देखिएका छन् । जिल्लामा मलको आपूर्ति र वितरण अवस्थाबारे समीक्षा गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायको बैठक बसेको हो ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बसेको बैठकमा जिल्लाका पालिका तथा नगरपालिकाका उपप्रमुखहरू, कृषि सामग्रीसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । बैठकमा किसानले समयमै मल नपाउने समस्याबारे गम्भीर छलफल गरिएको बताइएको छ ।
बैठकमा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि छुट्टाइएको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को गोदाममा हालसम्म युरिया ५ सय मेट्रिक टन, डिएपी २ सय मेट्रिक टन, पोटास ३ सय मेट्रिक टन तथा कृषि चुन ३० मेट्रिक टन मौज्दात रहेको जानकारी दिइएको छ । गोदाममा पर्याप्त मल भए पनि किसानसम्म समयमै नपुगेको विषयमा बैठकमा चासो व्यक्त गरिएको थियो ।
नवनिर्वाचित सांसद गुप्ताले किसानलाई मल अभावका कारण सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन सम्बन्धित निकायलाई छिटो र प्रभावकारी वितरण प्रणाली लागू गर्न कडा निर्देशन दिएका छन् । उनले मल गोदाममै थन्किने तर किसानले नपाउने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकले उपलब्ध मललाई जिल्लाका सबै स्थानीय तहमा आवश्यकता अनुसार यथाशीघ्र बिक्री–वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यसका लागि स्थानीय तहहरू र लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग समन्वय गर्दै कृषि सामग्री कम्पनी लिमिटेडमार्फत वितरण प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ ।
जिल्लामा खेतीपातीको मुख्य समयमा पनि मल अभावको समस्या दोहोरिँदै आएको गुनासो किसानले गर्दै आएका छन् । यसै सन्दर्भमा नवनिर्वाचित सांसद गुप्ताले किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग समन्वय गरी समयमै मल उपलब्ध गराउने व्यवस्था सुनिश्चित गरिने बताएका छन् ।
सरकारले पर्याप्त मल आपूर्ति भएको दाबी गरे पनि वितरण प्रणाली कमजोर हुँदा किसानले समयमै मल नपाउने समस्या विगतदेखिनै दोहोरिँदै आएको छ । त्यसैले अब वितरण प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सबै निकाय गम्भीर हुनुपर्ने आवाज पनि बैठकमा उठेको थियो ।