
रौतहट : जिल्लाको वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका भौतिक संरचनाहरूलाई जिल्ला वन कार्यालयले हटाउन सुरु गरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ६ स्थित बेल्डी वन क्षेत्रमा अनधिकृत रूपमा बनाइएका ६ वटा घरटहराहरूलाई सुरक्षा निकाय र वन कर्मचारीको संयुक्त टोलीले शुक्रबार भत्काएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रङपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले उक्त अतिक्रमण हटाएको हो । डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहका अनुसार वनको जग्गा कब्जा गर्ने नियतले बनाइएका कच्ची घर तथा छाप्राहरूलाई पूर्ण रूपमा ध्वस्त पारिएको छ ।
डिभिजन प्रमुख साहले दिएको जानकारी अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा वन कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको मौका छोपी केही स्थानीय व्यक्तिहरूले रातारात उक्त क्षेत्रमा घरटहरा निर्माण गरेका थिए । निर्वाचनको व्यस्ततालाई कमजोरी ठानेर वन क्षेत्रमा गरिएको यो अतिक्रमण सह्य छैन, साहले भने, हामीले पटक–पटक सचेत गराउँदा पनि संरचना नहटाएपछि बाध्य भएर सुरक्षाकर्मीको सहयोगमा भत्काउनु परेको बताए ।
प्रमुख साहले वन क्षेत्रको संरक्षणका लागि कार्यालय अब थप कठोर रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् । उनले कुनै पनि बहानामा वा राजनीतिक आडमा वन अतिक्रमण गर्ने कार्यलाई छुट नदिइने स्पष्ट पारे। वन विनाश र अतिक्रमणले वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्याउने भन्दै उनले सर्वसाधारणलाई वन क्षेत्रभित्र अवैध संरचना निर्माण नगर्न र सरकारी सम्पत्तिको रक्षा गर्न अपिल गरेका छन् ।
वन कार्यालयले आगामी दिनमा पनि जिल्लाका अन्य स्थानमा भएका अतिक्रमणहरूको पहिचान गरी ती संरचनाहरू हटाउने अभियानलाई निरन्तरता दिने जनाए । शुक्रबारको यस कारबाहीले वन अतिक्रमणकारीहरू माझ कडा सन्देश प्रवाह गरेको स्थानीय संरक्षणकर्मीहरूको बुझाइ छ ।