
रौतहट : मधेश प्रदेशको राजधानी बाहिरको स्वास्थ्य सेवालाई सुदृढ बनाउने उद्देश्यका साथ रौतहटको सदरमुकाम गौरमा अवस्थित प्रादेशिक अस्पताल गौरको स्तरोन्नति गरिएको छ । एक विशेष समारोहका बीच मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले अस्पतालको १०० बेड क्षमताको नयाँ संरचना तथा सेवाको औपचारिक उद्घाटन गरेका छन् ।
अस्पताल परिसरमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताए । उनले गौर प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाएसँगै अब रौतहटबासीले सामान्य उपचारका लागि पनि वीरगन्ज वा काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । हामी नारामा मात्र होइन, व्यवहारमै जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध छौँ, मुख्यमन्त्री यादवले बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय जंगीलाल राय यादवले प्रदेशका सरकारी अस्पतालहरूको भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनमा मन्त्रालय गम्भीर रहेको उल्लेख गरे । उनले अस्पतालमा आवश्यक अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकको दरबन्दी छिट्टै पूर्ण गरिने आश्वासनसमेत दिए ।
त्यसैगरी, कार्यक्रममा केन्द्रिय सदस्य माननीय नागेन्द्र शाहले अस्पतालको विकासले स्थानीय स्तरमा ठूलो राहत मिल्ने बताए । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
पहिले सिमित बेड संख्यामा संञ्चालित यस अस्पताल अब १०० बेडमा विस्तार भएसँगै बिरामीहरूले सहज रूपमा भर्ना भएर उपचार पाउने मार्ग प्रशस्त भएको छ । अस्पताल प्रशासनका अनुसार नयाँ सेवा थपिएसँगै स्त्रीरोग, बालरोग र आकस्मिक सेवा अझ प्रभावकारी हुनेछ ।
लामो समयदेखि ओझेलमा परेको गौर प्रादेशिक अस्पतालले पछिल्लो समय प्रदेश सरकारको ध्यान पाएपछि स्थानीयबासीहरूमा खुसीयाली छाएको छ । स्वास्थ्यकर्मीहरूले पनि पूर्वाधार विकासले कार्यसम्पादनमा सहजता आउने बताए ।