२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

गौरमा लामखुट्टे नियन्त्रण अभियान तीव्र

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत १ गते १६:५६
Shares
गौरमा लामखुट्टे नियन्त्रण अभियान तीव्र

रौतहट : तराईमा गर्मीको मौसम सुरु भएसँगै रौतहटको गौर नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढ्न सक्ने र यसले सर्वसाधारणको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने भन्दै नगरपालिकाले फागुन २८ गतेदेखि नगरका विभिन्न वडा तथा टोलमा किटनाशक औषधि छर्कने कार्यलाई तीव्र बनाएको हो ।

नगर प्रमुख शम्भु साहका अनुसार नगरबासीलाई डेंगु र मलेरिया जस्ता लामखुट्टेजन्य रोगबाट जोगाउन नगरपालिकाले पूर्वसतर्कता अपनाएको हो । “गर्मी मौसमको सुरुवातसँगै लामखुट्टेको संख्या बढ्न थालेको छ। यसले नगरबासीको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने भएकाले अभियानकै रूपमा किटनाशक औषधि छर्कन सुरु गरेका छौं,” उनले भने ।

लामखुट्टे नियन्त्रणका लागि नगरपालिकाले विशेष टोली नै परिचालन गरेको छ । नगर प्रमुख साहका अनुसार रातिको समयमा ‘फगिङ’ (धुवाँ फाल्ने मेसिन) तथा किटनाशक स्प्रे सञ्चालन गर्न ९ जना जनशक्ति खटिएका छन् । उक्त टोलीले नगरका मुख्य चोक, गल्ली तथा बाक्लो बस्ती भएका क्षेत्रमा साँझ र रातिको समयमा औषधि छर्कने काम गरिरहेको छ ।

औषधि छर्कने कार्यसँगै नगरपालिकाले नगरबासीलाई सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरेको छ । लामखुट्टेको वृद्धि नियन्त्रणका लागि स्थानीयको सक्रियता पनि आवश्यक रहेको नगर प्रमुख साहको भनाइ छ ।

नगरपालिकाले घर तथा पसल वरिपरि पानी जम्न नदिन, नाला तथा खाल्डाखुल्डी नियमित सफा गर्न, सुत्दा झुल प्रयोग गर्न र लामखुट्टेबाट बच्न पूरा बाहुला भएका लुगा लगाउन आग्रह गरेको छ ।

गौर नगरपालिकाले समयमै लामखुट्टे नियन्त्रण अभियान सुरु गरेपछि स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् । गर्मी र वर्षायाममा लामखुट्टेका कारण वर्षेनी जनजीवन प्रभावित हुने गरेकोमा यसपटक मौसम सुरु हुनासाथ अभियान थालिनु राम्रो कदम भएको उनीहरूको भनाइ छ ।

नगरपालिकाले आगामी दिनमा फोहर व्यवस्थापन तथा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर