
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांक अनुसार फागुन महिनामा मात्रै विभिन्न प्रकृतिका ८२ वटा मुद्दा दर्ता भएका छन्, जसमा सबैभन्दा धेरै आत्महत्यासम्बन्धी ३२ वटा रहेका छन् ।
प्रहरी विवरणअनुसार सो अवधिमा ज्यानसम्बन्धी ९, संगठित तथा आर्थिक अपराध १०, सामाजिक अपराध १२, सवारी ज्यान ४, महिला तथा बालबालिका सम्बन्धी ३, कर्तव्य ज्यान १, बैंकिङ कसुर ७ तथा अन्य १२ मुद्दा दर्ता भएका छन् । यस अवधिमा कुल १६० वटा उजुरी परेका मध्ये १०१ वटा फर्छ्यौट भइसकेका छन् भने बाँकी ५९ वटा अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आत्महत्या न्यूनीकरणतर्फ प्रहरीले सक्रियता देखाउँदै आत्महत्याको प्रयास गरिरहेका ३४ जनालाई समयमै उद्धार गरी ज्यान जोगाउन सफल भएको छ । त्यस्तै, जिल्लाका विभिन्न स्थानमा भएका १३ वटा आगलागीका घटनाबाट करिब १ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । ती घटनामा ३ जना घाइते भएका थिए भने १०४ जनाको सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ ।
फागुन महिनामा गौर नगरपालिका–६ सबगढामा भएको साम्प्रदायिक विवाद पनि सुरक्षाका हिसाबले चुनौतीपूर्ण बनेको प्रहरीले उल्लेख गरेको छ । उक्त घटनामा २४ जना घाइते भएका थिए भने ५ वटा सवारीसाधन र ३ वटा घरमा क्षति पुगेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १५३ राउन्ड अश्रुग्यास र ३७ राउन्ड हवाई फायर गर्नुपरेको एसपी रिजालले जानकारी दिए ।
यस अवधिमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २४० ग्राम खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरिएको छ । साथै, अवैध काठ ओसारपसार नियन्त्रण गर्ने क्रममा ५० क्युफिट खयरको काठसहित सवारीसाधन नियन्त्रणमा लिई करिब १ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । हुन्डी कारोबारमा संलग्न एक व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर ७० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसबाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । विद्यालय केन्द्रित कार्यक्रममा साइबर अपराध, लागूऔषध दुरुपयोग तथा आत्महत्या न्यूनीकरणका विषयमा ३२४ विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।
यसैबीच, फागुन महिनामा ८७ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् । प्रहरीका अनुसार सात हजारभन्दा बढी मोबाइल, पैदल तथा ग्रामीण गस्ती सञ्चालन गरिएको छ । हराएका तथा चोरी भएका ४ वटा मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।
प्रहरी उपरीक्षक रिजालले जिल्लाको शान्ति सुरक्षालाई अझ सुदृढ बनाउँदै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने बताउँदै आगामी दिनमा स्थानीय तह र नागरिकसँगको सहकार्य थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे ।