
रौतहट : रौतहटको सदरमुकाम गौरमा उच्च शिक्षाको भौतिक पूर्वाधार विकासतर्फ महत्वपूर्ण कदम चालिएको छ । राजर्षि जनक विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसका लागि आफ्नै भवन निर्माण गर्न आवश्यक जग्गा हस्तान्तरण प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको हो ।
हाल गौर नगरपालिका–२ मा सञ्चालन हुँदै आएको उक्त क्याम्पसको दीर्घकालीन विकास र विस्तारलाई ध्यानमा राख्दै गौर नगरपालिका–८ मा रहेको करिब ३ विगाहा ७ कठ्ठा जग्गा विश्वविद्यालयलाई उपलब्ध गराइएको छ । यसले क्याम्पसलाई आफ्नै स्थायी संरचना निर्माण गर्ने आधार तयार गरेको छ ।
आयोजित कार्यक्रमबीच नगरप्रमुख शम्भु साहले विश्वविद्यालयका उपकुलपति अमर यादवलाई जग्गाको स्वामित्वसम्बन्धी कागजात हस्तान्तरण गरेका थिए । लिज प्रक्रियामार्फत प्राप्त उक्त जग्गामा छिट्टै आधुनिक प्रशासनिक तथा शैक्षिक भवन निर्माण अघि बढाइने जनाइएको छ ।
नगरप्रमुख साहले स्थानीय तह शैक्षिक गुणस्तर सुधारप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ संरचनासँगै थप संकाय सञ्चालन हुने र विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरे ।
जग्गा प्राप्तिसँगै क्याम्पसले आफ्नै परिसरमा प्रयोगशाला, पुस्तकालय तथा खेलमैदानसहितका पूर्वाधार विकास गर्ने बाटो खुलेको छ । उपकुलपति यादवले नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै क्याम्पसलाई क्षेत्रकै नमुना शैक्षिक केन्द्रका रूपमा विकास गर्ने र प्राविधिक तथा व्यावसायिक विषयहरू थप गर्ने योजना रहेको जानकारी दिए ।
यसअघि आफ्नै भवन अभावका कारण शैक्षिक कार्यक्रम विस्तार र विद्यार्थी व्यवस्थापनमा समस्या हुँदै आएको क्याम्पस अब नयाँ संरचनासँगै थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । यसबाट रौतहटसहित आसपासका जिल्लाका विद्यार्थीहरू लाभान्वित हुने विश्वास गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षाविद्, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।