२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

ईशनाथमा हिलाम्मे सडकले स्थानीयलाई सास्ती

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत ९ गते १२:३२
Shares
ईशनाथमा हिलाम्मे सडकले स्थानीयलाई सास्ती

रौतहट : रौतहटको ईशनाथ नगरपालिकाले विकासका उपलब्धि सार्वजनिक गरिरहे पनि भौतिक पूर्वाधारको अवस्था भने सन्तोषजनक नदेखिएको गुनासो बढ्दै गएको छ । नगरका विभिन्न वडामा विकासका कार्यक्रमको प्रचार भइरहे पनि वास्तविकता भने विपरीत देखिएको स्थानीय बताउँछन् ।

विशेषगरी वडा नं. ९ डुमरियामा सडकको अवस्था अत्यन्तै जर्जर बनेको छ । नगरपालिकाले सडक मर्मत तथा स्तरोन्नतिमा पर्याप्त ध्यान नदिँदा मुख्य तथा भित्री सडकहरू हिलाम्मे बनेका छन् ।

सामान्य वर्षा हुँदा समेत डुमरियाका सडकहरूमा पैदल हिँड्न कठिन हुने अवस्था रहेको स्थानीयको भनाइ छ । नालाको उचित व्यवस्थापन नहुँदा पानी जमेर सडक झनै बिग्रिँदै गएको छ । “विकासको कुरा धेरै सुनिन्छ, तर घरबाट निस्कनै समस्या छ,” एक स्थानीयले गुनासो गरे । उनका अनुसार हिलोका कारण हिँड्दा लड्ने र कपडा फोहोर हुने डर सधैं रहन्छ ।

सडकको दुर्दशाले जनजीवनमा प्रत्यक्ष असर पारेको छ । बालबालिकालाई विद्यालय पठाउन अभिभावक हिचकिचाउने गरेका छन् भने आकस्मिक बिरामीलाई अस्पताल पुर्‍याउन समेत समस्या हुने गरेको छ । एम्बुलेन्स वा अन्य सवारी साधन सहजै नपुग्दा उपचारमा ढिलाइ हुने जोखिम बढेको छ ।

यस्तै, दैनिक उपभोग्य वस्तु ढुवानी र बजार आवतजावतमा पनि सर्वसाधारणले सास्ती खेप्नु परेको छ । स्थानीयहरूले नगर नेतृत्वले आधारभूत समस्यालाई बेवास्ता गरेको आरोप लगाउँदै तत्काल सडक मर्मत तथा कालोपत्रे प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

“हामीलाई चुनावी आश्वासन होइन, सहज आवतजावत हुने सडक चाहिएको हो,” स्थानीय युवाहरूले बताएका छन् । डुमरियाको यो समस्या समाधानतर्फ नगरपालिका कत्तिको गम्भीर बन्छ भन्नेमा अहिले सबैको चासो केन्द्रित भएको छ ।

No description available.

सम्बन्धित खबर