
रौतहट : लोक आस्था श्रद्धा र सूर्य उपासनाको महापर्व चैती छठ बुधवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै हर्षोल्लासका साथ सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गौरस्थित गौर-५ मा रहेको ऐतिहासिक छठ घाट पोखरी बरहवा ताल लगायत जिल्लाका विभिन्न स्थानमा श्रद्धालुहरूले बिहान सूर्योदयको समयमा 'उषा अर्घ्य' अर्पण गरेका हुन् ।
चार दिनसम्म अत्यन्तै कठिन निष्ठा र विधिपूर्वक मनाइने यो पर्वको अन्तिम दिन बुधबार बिहानैदेखि जलाशय किनारमा व्रतालु र दर्शनार्थीहरूको घुइँचो लागेको थियो । रातिभरि जाग्राम बसेका र बिहानै घाट पुगेका व्रतालु महिलाहरूले कम्मरसम्म आउने पानीमा उभिएर बाँसको नाङ्लो सूपमा ठकुवा, कसार, फलफूल र अन्य प्रसाद राखेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
चैत ९ गते नहा-खायबाट सुरु भएको यो पर्व १० गते खरना मंगलबार ११ गते सझिया घाट अस्ताउँदो सूर्यलाई अर्घ्य र बुधबार भोरका अर्घ्य' उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिएको हो । ३६ घण्टा लामो निराहार व्रत बसेका व्रतालुहरूले अर्घ्य दिएपछि प्रसाद ग्रहण गरी व्रत पारन गरेका छन् ।
जिल्लाको गौर नगरपालिका-५ स्थित छठ घाटमा विशेष सजावट गरिएको थियो । स्थानीय पूजा समिति र स्वयंसेवकहरूको सक्रियतामा घाटलाई दुलही झैँ सिँगारिएको थियो। स्थानीय बासिन्दाका अनुसार कार्तिकमा मनाइने छठ जत्तिकै भव्य नभए पनि पछिल्ला वर्षहरूमा चैती छठ मनाउनेहरूको संख्यामा वृद्धि हुँदै गएको छ ।
छठ पर्वलाई केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक सद्भाव र समानताको प्रतीकका रूपमा पनि लिइन्छ । जातजाति र धनी-गरिबको भेदभाव नगरी एउटै जलाशयमा बसेर पूजा गरिने यस पर्वले समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।
गौरका साथै जिल्लाका सरुअठा, शिवनगर, गरुडा, कटहरिया र मौलापुर लगायतका ग्रामीण क्षेत्रका पोखरी तथा नदी किनारमा पनि चैती छठको उल्लास देखिएको थियो । व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुका लागि छठी माता र सूर्यदेवसँग प्रार्थना गरेका छन् ।