
काठमाडौं : अमेरिका–इजरायल र इरान युद्धले खाडी मुलुकमा तत्कालका लागि ऊर्जा र पर्यटन क्षेत्रमा रोजगारी कटौती भएपनि युद्ध रोकिनसाथ पुनर्निर्माणको चरण सुरु हुने विश्लेषण गरिएको छ । नेपाली कामदार ठुलो संख्यामा निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।
युद्ध अन्त्य नहुने खतरा देखिएपछि युएई र कतारजस्ता देशहरूमा पर्यटक भने आउन छाडेका छन् । होटलमा सेफको काम गर्ने कपिलवस्तुका ४३ वर्षीय जैतुन कहाँरले युद्ध सुरु भएपछि रोजगारी गुमाएका छन् । उनलाई घर जान कम्पनीले टिकट दिने, तर काममा राख्न नसकिने बताएको छ । होटल नचलेपछि सम्बन्धित ट्याक्सी सेवाहरू पनि प्रभावित भएका छन् । त्यसले ड्राइभर पेसा सिथिल बनाएको छ ।
निर्माण क्षेत्रमा काम गर्ने बाराका राहुल रञ्जनले भने, ‘अहिलेका लागि जागिर सुरक्षित छ । तर यो युद्ध जारी रह्यो भने केही भन्न सकिँदैन । कम्तीमा अर्को महिनासम्ममा युद्ध समाप्त भयो भने पुनर्निर्माण प्रक्रियाले गति लिने छ । त्यसले कामदारको माग अनपेक्षित रूपमा बढाउन पनि सक्छ ।’
रमजानअघि धेरै संख्यामा आप्रवासीहरू घर बिदामा गएका छन् । पर्याप्त उडानको अभावमा उनीहरू फर्किन सकेका छैनन् । आप्रवासन अनुसन्धानकर्ताहरूले सञ्चारमाध्यममा बढाइचढाइ भएपनि खाडी मुलुकको आन्तरिक अवस्था र दैनिक गतिविधि त्यति खराब नभएको बताएका छन् ।
युएईमा गत साता एक प्रमुख रियल इस्टेट कम्पनीले ७०० भिल्लाको परियोजना सुरु गरेको थियो । मानिसहरूले युद्धले घरको मूल्य घट्ने सोचेका थिए, तर कम्पनीले पुरानो दरमा नै हाल भिल्लाहरू बेच्न थालेको छ । त्यसले मानिसहरूमा युद्धका बीचमा पनि केही नयाँ गर्न चाहेको आंकलन गरिएको छ ।