काठमाडौं : सरकारले विदेशी कामदारको भिसा एप्रुभलमा ढिलाइ गरिरहेको भन्दै मलेसियाका निजी क्षेत्रका उद्योगीहरूले सरकारको आलोचना गरेका छन् । मलेसियाका पाम आयल उद्योगीहरूले प्लान्टेसन क्षेत्रमा विदेशी कामदारको अभाव झेलिरहेका छन् ।
बुधबार मलेसियाको ठूलो मध्येको एक प्लान्टेसन कम्पनी ‘कुलिम मलेसिया बिएचडी’मा कोरोना संक्रमणपछि पहिलोपटक इन्डोनेशियाको लोम्बाक टापुबाट ३७ जना आप्रवासी कामदार पुगेका थिए । मलेसियामा उनीहरूलाई भव्य स्वागत गरिएको छ भने उक्त विषयलाई राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि महत्वपूर्ण स्थान दिएका छन् ।
विश्वको दोश्रो ठूलो पाम आयल निर्यातकर्ता मलेसियामा हाल उक्त क्षेत्रमा मात्रै १ लाख २० हजार कामदारको कमी रहेको बताइएको छ । हाल मलेसियाको प्लान्टेशन क्षेत्रमा इन्डोनेशिया र बंगलादेशी कामदारले काम गरिरहेका छन् । उद्योगीहरूले ती दुबै देशबाट गएका कामदारले प्लान्टेशन उद्योगमा आवश्यक रहेकोे विदेशी कामदारको माग पूरा गर्न नसकेको भन्दै भारत र पाकिस्तानी कामदार ल्याउन अनुमति दिनुपर्ने माग गरेका हुन् ।
प्लानटेसनसँगै निर्माण, म्यानफ्क्चिरङ तथा सेवा क्षेत्रमा विदेशी कामदारको अभाव रहेको त्यहाँको निजी क्षेत्रले बताएको छ । मलेसियाबाट म्यानफ्क्चिरङ, सुरक्षा तथा सेवा क्षेत्रको डिमाण्ड नेपाल आउने गरेको छ । ती क्षेत्रको एप्रुभलमा पनि ढिलासुस्ती भएको गुनासो छ ।
मलेसियाका सरकारी अधिकारीहरूले कोरोना संक्रमणका कारण दुई वर्षभन्दा लामो समय बन्द रहेको देशको अन्तर्राष्ट्रिय सिमा केही समयअघि मात्रै खुला गरिएको कारणले भिसा तथा मागपत्र एप्रुभलको चाप एकैचोटी थपिएको बताएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies