
रौतहट : असत्यमाथि सत्यको विजयको प्रतक एवं त्रेता युगका मर्यादापुरुषोत्तम भगवान् श्रीरामको जन्मजयन्ती राम नवमीको अवसरमा शुक्रबार रौतहटको सदरमुकाम गौरमा विशाल शोभायात्रा सम्पन्न भएको छ । श्रीराम नवमी उत्सव समिति गौरको आयोजनामा निकालिएको उक्त शोभायात्रामा हजारौं श्रद्धालु भक्तजन तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
गौरस्थित ऐतिहासिक राइस मिलको प्रांगणबाट विधिवत् रूपमा सुरु भएको शोभायात्राले गौर नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
जय श्रीरामको जयघोष र भजन किर्तनसहित निकालिएको उक्त यात्रा भंन्सार क्षेत्र हुँदै नगरको मुख्य केन्द्र घण्टाघरसम्म पुगेको थियो । शोभायात्राका क्रममा सहभागी युवाहरूले भगवा झण्डा बोकेर नगरलाई भक्तिमय बनाएका थिए ।
उत्सवलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटले गौरले सुरक्षा व्यवस्था अत्यन्त चुस्त बनाएको थियो ।
ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उक्त शोभायात्रामा विशेष गरी युवाहरूको उपस्थिति उल्लेखनीय देखिन्थ्यो । युवाहरूले अनुशासित रूपमा पदयात्रा गर्दै धार्मिक सहिष्णुता र एकताको सन्देश दिएका थिए ।
नगर परिक्रमा पश्चात् शोभायात्रा गौर ५ स्थित अदालत रोडमा रहेको श्री राम मन्दिरमा पुगेर बिसर्जन भएको थियो। शोभायात्रा समापनपछि मन्दिर परिसरमा भव्य भजन जागरण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा उपस्थित सम्पूर्ण भक्तजनहरूका लागि महाप्रसादको समेत व्यवस्था गरिएको आयोजक श्री राम नवमी उत्सव समितिले जनाए ।
आयोजक समितिका प्रतिनिधिहरूले यस पवित्र दिनले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । भगवान् रामको जीवनबाट प्रेरणा लिँदै हामी सबैले सत्य, धर्म, मर्यादा र सदाचारको मार्गमा अगाडि बढ्नुपर्छ भन्नेनै यस उत्सवको मुख्य उद्देश्य हो, समितिका एक सदस्यले बताए ।
रौतहटको गौरमा हरेक वर्ष राम नवमी भव्यताका साथ मनाइने गरिएता पनि यस वर्षको विशाल उपस्थिति र व्यवस्थित व्यवस्थापनले विशेष रौनक थपेको स्थानीय बासिन्दाहरूको भनाइ छ ।