२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

वैदेशिक रोजगारलाई सुधार्ने रास्वपाका ७ योजना

himalayanlife
२०८२ चैत १५ गते ०६:१५
Shares
वैदेशिक रोजगारलाई सुधार्ने रास्वपाका ७ योजना

काठमाडौं : यसपटकको प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिकको जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठन गरेपछि मुलुकको सबै क्षेत्रमा कस्तो सुधार ल्याउला ?  वैदेशिक रोजगारमा कस्तो परिणाम देखाउला ? भन्ने प्रश्न आम जिज्ञासाका रूपमा रहेका छन् ।

शुक्रबार पदभार सम्हालेका नवनिर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले सीप तथा तालिममा जोड दिने बताएका छन् । उनले सीप तथा तालिमले स्वदेशमा रोजगार सिर्जना गर्नेदेखि वैदेशिक रोजगारमा जानेहरूलाई लाभ पुग्ने बताएका छन् ।

वैदेशिक रोजगारमा रहेका नेपाली कामदारका परिवारका मतदाता यसपटक रास्वपाको अकल्पनीय जितका प्रमुख आधार बनेका छन् । वैदेशिक रोजगारमा रहेकाहरूले प्रत्येक दिन नेपालमा रहेका परिवारलाई रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्न नझकझकाएको भए रास्वपालाई दुईतिहाइ नजिकको यो मत पाउन कठिन थियो ।

यसअघिका प्रमुख दलहरूले जस्तै निर्वाचनका क्रममा गरेका वाचापत्र र प्रतिज्ञाबाट रास्वपा विगतमा अन्य दलहरूजस्तो पछि हटेन भने उसले वैदेशिक रोजगारमा जाने क्रमलाई निरन्तरता दिँदै वैदेशिक रोजगार क्षेत्रमा मुख्यतः सात क्षेत्रमा सुधार गर्ने उल्लेख गरेको छ ।

निर्वाचनका लागि सार्वजनिक वाचापत्रमा रास्वपाले वैदेशिक रोजगारमा जाने नागरिकहरूको हित संरक्षण गर्न वैदेशिक रोजगार कम्पनीहरूलाई पारदर्शी, नियमसम्मत र पूर्ण जवाफदेही बनाउने पहिलो प्रतिबद्धता सार्वजनिक गरेको छ ।

वाचापत्रमा उसले भनेको छ, ‘ठगी, अत्यधिक शुल्क असुली र झुटा करार गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्नेछौं । वैदेशिक रोजगारमा गई विप्रेषण भित्र्याउने श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूका लागि विशेष परिचयपत्र जारी गर्नेछौं । उक्त परिचयपत्रका आधारमा सरकारी स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सामाजिक सेवामा सहुलियतको व्यवस्था हुनेछ ।’

यसअघि सो पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले श्रम मन्त्रालय सम्हालेका थिए । त्यतिबेला ‘फ्रि भिसा, फ्रि टिकट’ निर्णय व्यवहारिक छैन भन्ने विषयमा मन्त्री अर्याल सहमत थिए । तर त्यसलाई सुधार गर्दा अपजसको भारी बोक्नुपर्ने र उक्त नीति नेपाली कांग्रेसको सरकारका पालामा आएका कारण उसैले सच्याउनुपर्ने ठानेर कुनै निर्णय गरेनन् । चुनावी वाचापत्रमा त्यस विषयमा केही उल्लेख छैन । वाचापत्रमा वैदेशिक रोजगारको प्रक्रियामा निजी क्षेत्रको लगानी रहेको विषयलाई स्वीकार गरेको छ ।

त्यसैगरी वाचापत्रमा दलित तथा उत्पीडित समुदायका परिवार सदस्य वैदेशिक रोजगारीमा जान इच्छुक भएमा स्थानीय तहको सिफारिस वा जमानतमा बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उल्लेख छ । वैदेशिक रोजगारबाट सीप र अनुभव आर्जन गरी स्वदेशमै उत्पादनमुखी उद्यम सञ्चालन गर्न चाहने उद्यमीहरूलाई ब्याजमा विशेष अनुदान, प्राविधिक सहयोग तथा बजार पहुँच कार्यक्रममार्फत प्रोत्साहन गर्ने भनिएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूमाथि हुने शोषण अन्त्य गर्न दूतावासहरूलाई स्रोतसम्पन्न बनाई पुनःएकीकरणका प्याकेजमार्फत सामाजिक सुरक्षा सुनिश्चित गर्दै आउँदा निर्वाचनमा सहभागी गराउन ‘अनलाइन’ वा ‘दूतावास’मार्फत मतदानको अधिकार सुनिश्चित गर्न रास्वपाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहने पनि वाचापत्रमा उल्लेख छ ।

प्रवासका दशौं लाख नेपालीहरू केवल विप्रेषण पठाउने मानिस मात्र होइनन्, नेपालको ‘ब्रेन गेन’ र आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भ पनि हुन् भन्दै रास्वपाले वाचापत्रमा संसारभरि छरिएर रहेका नेपाली विज्ञहरूको ज्ञान, सीप र अनुभवलाई राज्यका नीति निर्माणमा सिधै जोड्ने संयन्त्र निर्माण गर्ने, गैरआवासीय नेपालीहरूको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा रहने स्पष्ट गरेको छ । सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्न प्रतिबद्ध रहने पनि रास्वपाको प्रतिबद्धता छ ।

सम्बन्धित खबर