– अनु विज्ञाति
“बिहे भएको एक हप्ता नपुग्दै, उहाँको व्यवहारमा परिवर्तन आउन थाल्यो । राती अबेर घर आउने, बिहान चाँडो अफिस निस्कने, मसँग कुरै नगर्ने । यो क्रम आज नौ महिना बितिसक्दा पनि चलिरहेको छ । उहाँले मलाई श्रीमतीको दर्जा अहिलेसम्म दिनु भएको छैन । लौ तपाईंहरू नै भन्नुहोस् उहाँसँग म कसरी बस्ने ?” रुबिनाले श्रीमानको व्यवहारप्रति असन्तुष्टी व्यक्त गर्दै छुट्टै बस्ने वातावण मिलाई दिन आग्रह गरिन् ।
न्यायिक समितिका सदस्यहरू बको ध्यानम् उनका कुरा सुनी रहेका थिए । म भने त्यो दृश्य र स्थान दुबैका लागि नौलो थिएँ । मेरो हातमा उनीहरूको मिसिल थियो । अझ भनौ उनीहरुले माग गरेको उनीहरूको भविष्य थियो ।
रुबिनाको शिकायतपछि प्रवेशको सफाईको पालो आयो । न्यायिक समिति संयोजकले प्रवेश तिर फर्किएर प्रश्न गरे– “रुबिनाको कुरा सही हो ?”
प्रवेश बोल्नु भन्दा अघि नै प्रवेशका आफन्तले अनुनय गरे । “बुहारी किन यस्तो कुरा गछ्र्यौ ? हामीले त तिमीहरू बिच कहिल्यै मन मुटाव भएको थाहा पाएका थिएनौं । हो, बिहे गर्न तिमीले पनि मानेकी थिएनौं । प्रवेशले पनि । तर तिम्रा अभिभावक र हाम्रो कुरा मिलेर नै बिहे भएको हो । दुबै राम्रो परिवारका । पढेँ लेखेका । तिमीहरूको भविष्य सुन्दर हुन्छ भन्ने सोचेर नै हामीले तिमीहरूको बिहे गराई दिएका थियौँ । एक जना पाका व्यक्तिले कुरा राखे । उनी प्रवेशका बुवा रहेछन् ।
“होइन तिमीहरू त धेरै दिनदेखि एकान्तमा खासखुस गरिरहेको देख्थेँ । केही महिना अघिदेखि नै बैठक कोठामा भन्दा बढी आफ्नै कोठामा गफिन थालेका थियौ । यसले त तिमीहरूको सम्बन्ध झन् गढा भएको संकेत गर्छ होइन र ? तर आज अचानक ?” अर्की अधवैंसे महिलाले आश्चर्य जनाइन् । उनी प्रवेशकी आमा रहिछिन् ।
प्रवेशले भने आफूलाई लागेको आरोपको कुनै खण्डन गरेन । मात्र यति भन्यो– “उहाँ मसँग बस्न चाहानुहुन्न भने यसमा किन जबरजस्ती गर्ने ? ठीक छ, उहाँलाई छुट्टै बस्ने व्यवस्था गरीदिनु होस् । के भयो र किन भयो तिर अल्झिएर समय बर्बाद गर्नुभन्दा उहाँको मागबमोजिमकै न्याय दिलाई दिनु । दुबैको टन्टै साप ।”
प्रवेशको ग्रीन सिग्नलवाला जवाफ आए लगतै पुनः छुट्टै बस्ने व्यवस्था मिलाई दिन रुबिनाले थप आग्रह गरिन् ।
न्यायिक समिति संयोजकले रुबिनाको माग सम्बोधन गर्दै भने– “कहीले काहीँ जानी नजानी मान्छेबाट गल्ती हुन्छ । कमी कमजोरी हुन्छ । यस्ता कमी कमजोरी सुधार्न हामीले एक अर्कालाई मौका पनि दिनुपर्छ । यसरी बिहे गरेको नौं महिनामै श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद गर्दै जाने हो भने त यो गाउँका धेरै जना एकल भै सक्नुहुन्थ्यो । त्यसैले दुबैले दुबैका कमीकमजोरी सुधारेर अब नयाँ शिराबाट जीवन जीउनु पर्छ । लौ भन्नुहोस् कस कसले के–के बानीमा सुधार ल्याउनु पर्छ ? हामी त्यही लेखेर तपाईंहरूको सहमति गराई दिन्छौँ ?”
संयोजकको कुरामा कसैको केही प्रतिक्रिया आएन । दुबै चूपचाप बसे ।
समितिका अर्का सदस्यले पुनः दोहोर्याए, “सुधार गर्नु पर्ने बानी भन्नु भएन त दुबैले ? कि दुबैको छुट्टिने बहाना हो यो ?”
अझै पनि दुबै बोलेन् ।
रुबिनाकी आमा र प्रवेशका बुबा आमा उनीहरुलाई मिलेर बस्न अनुनय गरिरहेका थिए । “मात्र नौं महिना भएको छ बिहे भएको । तेत्रो खर्च भएको छ । आज तिमीहरू छुट्टीएर बस्दा जोरीपारीले के भन्लान् ? समाजले के भन्ला ? हामीलाई मुख देखाउननै गाह्रो हुन्छ ।” उनीहरू सम्बन्ध बचाउन घिडघिडाई रहे ।
तर प्रवेश र रुबिनालाई त्यो कुराले कतै छुएन ।
धेरै समय न्यायिक समितिका सदस्यहरूले उनीहरूलाई मिलेर बस्न सम्झाए । उनीहरुका अभिभावकले पनि छुट्टाछुट्टै कोठामा लगेर निक्कै बेर सम्झाए बुझाए । तर कसैको केही सीप चलेन ।
“बिहे गरेको नौं महिनामा नै त्यो पनि आफ्नै राजीखुशीले सम्बन्ध तोड्दा हामीले किन अंश दिनुपर्ने ? बस्दै नबस्ने हो भने जाऊ तर, अंश दाबी गर्न पाउँदिनौ ।” सम्बन्ध बचाउन नसकेपछि सम्पत्ति बचाउन तिर लागे प्रवेशका बुबाआमा ।
रुबिनाले मुख खोल्नु अघि नै प्रवेशले भन्यो– “उसको भाग त दिनैपर्छ नी ! कहाँ त्यसो भनेर हुन्छ ? आजकलका केटीको भर हुन्न । राम्रोसँग नचिनी बिहे गर्दिन । बरु बिहे गर्ने खर्च त मलाई दिनुहोस् । म अष्ट्रेलिया जान्छु भनेकै थिएँ । त्यो बेला तेत्रो खर्च कहाँबाट ल्याउनु भन्नुभो ! जान दिएको भए यति बेला डलर थाप्ने बेला हुन्थ्यो । खुब त्यति पैसाले त बिहे हुन्छ भन्दै बिहे गरिदिनु भयो । अब तिर्नुुस् उल्टै । पैसा पनि गयो । म अष्ट्रेलिया जान पनि पाइन !” सबै दोष आमाबुवालाई खन्याएर रूबिनाको न्यायको लागि अघि सर्यो उ ।
न्यायिक समितिका सदस्यहरू मुखामुख गरे । सम्बन्ध सकिएपछि सम्पत्ति बचाउन तिर नलाग्ने पहिलो केश थियो सायद त्यो उहाँहरुको लागि ।
प्रवेशका बुवाआमा छोराको कुरा सुनेर जिल्ल परे । “तैंले कमाएको छ भने दे । हामी त हाम्रो सम्पति दिँदैनौ । जब घरजम हुँदैन भने अर्कोको सम्पतिमा के आँखा लगाउनु ?” निक्कै बेरपछि प्रवेशका बुवाको वाक्य फुटयो ।
“हामीसँग त्यति सम्पत्ति पनि कहाँ छ र ? जे जति छ त्यो पनि मेरो माइतीले दिएको । त्यो म कसैलाई बड्नेवाला छैन ।” आमाले अड्डी लिइन् ।
फेरी पनि रुबिनाले मुख खोल्नै परेन ।
“मम्मी यही मिलेर खुरुक्क नदिए, बेकारमा अड्डा अदालत धाउनु पर्छ । समाजमा इमेज अझै खराब हुन्छ । उतिनै पैसा सकिन्छ । र अन्तिममा सम्पत्ति पनि दिनैपर्छ । यति झन्झट व्यहोर्नु भन्दा त खुरुक्क उसको भाग दिउँ ।” फेरी पनि प्रवेशले सम्पति दिनुपर्ने कुरालाई जोड दियो ।
निक्कै बेरको छलफल र वादविवाद पछि सबै जायजेथाबाट प्रवेशको भागमा पर्ने सम्पत्ति हिसाब गरियो । र फेरी त्यहाँबाट रुबिनालाई आधा दिने र दुबैले अदालतमा गएर सम्बन्ध विच्छेद गर्ने सहमति भयो ।
प्रवेश र रुबिनाका आमा बुवा निन्याउरो मुख लगाएर बाहिरिए । सायद छोरा छोरीको मञ्जुरी विपरीत गरिएको त्यो विवाह सम्झेर पछुताएका थिए दुबै ।
विवादको निकास निस्किएपछि न्यायिक समितिका सदस्यहरु पनि बाहिरिए । अब इजलासमा म र उनीहरू मात्र रह्यौ ।
मैले प्रवेश र रुबिनालाई सहमति पत्रमा हस्ताक्षर गर्न बोलाएँ । दुबै जना एक साथ मेरो छेउमा आए । जबरजस्ती बाँधिएको दाम्लो चुँडाएर भाग्न सफल भए झैं उनीहरुका आँखामा जीतको चमक छल्किएको थियो । दुबै निक्कै खुसी देखिन्थे ।
हस्ताक्षर गर्ने काम सकिएपछि, दुबैले पल्याक्क पुलुक्क यता उता हेरेँ । कोही नदेखेपछि सायद उनीहरुलाई खुसी साट्न मन लाग्यो । प्रवेशले हात मुड्की पार्दै रुबिना तिर लग्यो । रुबिनाले पनि उसै गरी । त्यो सौहार्दपूर्ण छुटाई र छुट्नुको खुसीमा उनीहरूले चेस गरेको देख्दा म छक्क परे ।
“अब जाँदा हुन्छ ।” मैले उनीहरूलाई बिदा गरे ।
निस्कनु अघि प्रवेशले रुबिनातिर फर्केर भन्यो– “प्लान सक्सेस भयो । अब डीलअनुसार तपाईंले पाएको सम्पत्तीबाट मेरो हिस्सा चाडै दिनु पर्यो । जति सक्दो चाँडो म उनलाई लिएर अस्ट्रेलिया जानेछु ।”
रुबिनाले हुन्छको भावमा टाउको हल्लाउँदै भनिन्, “मेरो त झन् जापानका लागि भिषा नै आईसकेको छ । खाली पैसाको अभावले प्रोसेस अगाडि नबढाएको । आफू त गएर, सेटल भएर, उसलाई तान्नु छ । पैसा कमाएर फेरि पनि दोस्रो डीलअनुसारको पैसा तपाईंलाई फिर्ता गर्नुछ । यताको डिभोर्सको कागज नबनाई उता बिहे दर्ता गर्न मिलेन । धन्न आज सबै भनेजस्तो भयो । अब भने बल्ल आफ्नो जीन्दगी जिउन पाउने कुरामा ढुक्क भएँ ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies