२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

जीर्ण भवनमै वडा कार्यालय

Nada
विनोद निगम
२०८२ चैत १६ गते २०:५६
Shares
जीर्ण भवनमै वडा कार्यालय

नवलपरासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, गेरामीस्थित वडा कार्यालय अझै पनि पञ्चायती कालमै निर्माण गरिएको करिब ४५ वर्ष पुरानो जीर्ण भवनबाट सञ्चालन हुँदै आएको छ । समयअनुसार पूर्वाधार विकास हुनुपर्ने स्थानीय तहमै यस्तो लापरबाही देखिँदा सेवा प्रवाह नै जोखिममा परेको छ ।

ncell

स्थानीय सरकार गठन भएको वर्षौं बितिसक्दा पनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान नदिएको भन्दै स्थानीयवासी आक्रोशित छन् । वडाध्यक्ष दायशंकर त्रिपाठीले पटक–पटक पहल गरे पनि पालिकाबाट कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । उनका अनुसार प्रदेश सांसददेखि संघीय सांसदसम्म पटक–पटक ध्यानाकर्षण गराइए पनि समस्या ज्यूँका त्यूँ छ ।

स्थानीय बासिन्दा वाजित पठानका अनुसार उक्त भवन पञ्चायती कालदेखि निरन्तर प्रयोगमा छ । ‘पहिला पञ्चायत कार्यालय थियो, अहिले वडा कार्यालय छ, तर अवस्था उस्तै छ । म सानैदेखि हेर्दै आएको भवन आजसम्म फेरिएको छैन,’उनले भने । 

भवनको अवस्था अत्यन्तै जर्जर छ । तल्लो तल्लाका भित्ताहरू चर्किएका छन् भने कतिपय स्थानमा ढल्ने जोखिम बढेको छ । त्यही कारण माथिल्लो तल्लामा वडाध्यक्षको कक्ष, सचिवालय तथा लेखा शाखा सञ्चालन गर्न बाध्य भएका छन् । दिनभर कर्मचारीहरू जोखिमपूर्ण संरचनामै काम गर्न विवश छन् । 

शौचालय समेत प्रयोगयोग्य अवस्थामा नरहेको स्थानीयले बताएका छन् । आधारभूत सुविधा नै नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । यस्तो अवस्थामा पनि सम्बन्धित निकाय मौन बस्नु गम्भीर लापरबाही भएको स्थानीयहरूको आरोप छ ।

वडाध्यक्षले नयाँ भवन निर्माणका लागि पटक–पटक प्रस्ताव राखे पनि बजेट अभावको बहाना बनाउँदै पालिकाले बेवास्ता गरेको आरोप लगाए । ‘हामीले धेरै पटक अनुरोध गर्‍यौं, तर कसैले चासो देखाएन । यस्तो अवस्थामा काम गर्न गाह्रो भएको छ,’ उनले भने ।

स्थानीयहरूका अनुसार अबको नयाँ सरकारले भने यसतर्फ ध्यान दिने अपेक्षा गरिएको छ । नयाँ सरकार आएको छ, अब केही सुधार होला भन्ने आशा छ । कम्तीमा सुरक्षित भवनमा सेवा पाउने वातावरण बनाइयोस्, स्थानीय पाठनले बताए ।

स्थानीय तहकै जिम्मेवारीमा पर्ने वडा कार्यालय जस्तो संवेदनशील संरचना ४५ वर्षसम्म जीर्ण अवस्थामै रहनु प्रशासनिक लापरबाहीको ज्वलन्त उदाहरण भएको स्थानीयहरूको भनाइ छ । तत्काल नयाँ भवन निर्माणतर्फ ठोस कदम चाल्न उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन् । 

सम्बन्धित खबर