
रौतहट : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रौतहटमा कार्यरत एक कर्मचारीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा अदालतका डिठ्ठा लव कुमार सिंह रहेका छन् ।
अख्तियारको टोलीले मंगलबार साँझ करिब ४ बजेतिर उनलाई ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । सेवाग्राहीको काम सहजीकरण गरिदिने बहानामा अतिरिक्त रकम माग गरिएको सूचनाका आधारमा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले निगरानी बढाएर कारबाही अघि बढाएको थियो ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत दर्ता–खारेजी (दा.खा.) पुर्जी जारी गरी जग्गा फुकुवा गरिदिने नाममा सेवाग्राहीसँग रकम मागिएको प्रारम्भिक उजुरीमा उल्लेख थियो । सोही आधारमा गरिएको अपरेसनका क्रममा गौर नगरपालिका–१ स्थित अदालत परिसरभित्रै नगद लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउका क्रममा सिंहको साथबाट घुस रकमसहित अनुसन्धानका लागि आवश्यक प्रमाणका रूपमा मोबाइल फोन समेत बरामद गरिएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अदालती प्रक्रिया सहज गरिदिने भन्दै सेवाग्राहीसँग अनियमित लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
अख्तियारले सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती गर्ने तथा व्यक्तिगत स्वार्थका लागि सेवाग्राहीलाई हैरानी दिने प्रवृत्तिविरुद्ध कडाइका साथ कदम चालिरहेको जनाएको छ । पक्राउ परेका सिंहमाथि भ्रष्टाचार निवारण ऐन अनुसार थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।