२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सडक दुर्घटनामा मृत्यु भएको एक महिनासम्म पनि मुद्दा दर्ता भएन

न्यायको खोजीमा पीडित परिवारद्वारा आत्मदाहको चेतावनीमा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत २१ गते १३:४१
Shares
सडक दुर्घटनामा मृत्यु भएको एक महिनासम्म पनि मुद्दा दर्ता भएन

रौतहट : रौतहटको गरुडामा ट्रेक्टरको ठक्करबाट एक नाबालकको मृत्यु भएको घटनाले गम्भीर मोड लिएको छ । घटना भएको करिब एक महिना बित्न लाग्दासमेत प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेको भन्दै पीडित परिवारले न्यायका लागि पत्रकार सम्मेलनमार्फत गुहार मागेका छन् ।

ncell

प्रहरी प्रशासनले राजनीतिक दबाब र आर्थिक प्रभावमा परेर दोषीलाई संरक्षण दिएको आरोप पीडित पक्षको छ । पीडित परिवारले दिएको जानकारी अनुसार फाल्गुन १७ गते आइतबार प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा ना.६ त ७५८६ नम्बरको ट्रेक्टरले दुर्घटना गराएको थियो। जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार दासको चुनावी प्रचारमा प्रयोग गरिएको उक्त ट्रेक्टरमा चर्को आवाजमा डिजे बाजा बजाइएको थियो ।

अत्यधिक गति र लापरबाहीका कारण ट्रेक्टरले गम्हरिया टोलस्थित अब्दुल कलाम आजाद (फूलबाबु) को घरको कम्पाउण्ड वाल र गेटमा ठक्कर दिएको थियो । सोही क्रममा गेट नजिक खेलिरहेका बालक मो. अलफाज गेटमा च्यापिन पुगेका थिए र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

​मृतकका आफन्तका अनुसार घटनापछि उम्मेदवार राजकुमार दासले पहिले बच्चालाई बचाउनुपर्छ भन्दै आफ्नै गाडीमा राखेर बालक र परिवारलाई गरुडास्थित अस्पताल पुर्‍याएका थिए । बैंकबाट पैसा लिएर आउँछु भनी अस्पतालबाट बाहिरिएका दास त्यसपछि हालसम्म पनि सम्पर्कमा नआएको र पीडितको पीडामा बेवास्ता गरेको आरोप लगाइएको छ । मृतकका पिता हाल वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा रहेका छन् ।

​मृतककी आमा सबिहा खातुनले इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी शंकर प्रसाद आचार्यमाथि गम्भीर आरोप लगाएकी छन्। पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भनिन्,' ​हामी गरिब छौँ, त्यसैले हाम्रो कुरा सुनिँदैन। डिएसपी आचार्यले मुद्दा दर्ता गर्नुको साटो उल्टै हामीलाई बोलाएर डराउने र धम्क्याउने काम गरिरहेको छ। उनले दोषी पक्षसँग मिलेमतो गरेर न्यायलाई दबाउन खोज्नुभएको छ ।'

खातुनले थप चेतावनी दिँदै भनिन्, 'यदि हामीले न्याय पाएनौँ भने इलाका प्रहरी कार्यालय गरुडाकै अगाडि आत्मदाह गर्नेछौँ। छोरो नै नरहेपछि म बाँच्नुको अर्थ छैन, यसको सम्पूर्ण जिम्मेवारी डिएसपी आचार्यले लिनुपर्नेछ ।'

यता, प्रतिनिधि सभा सदस्यका प्रत्यासी राजकुमार दास तत्माले भने आफूमाथि लगाइएका आरोपहरू निराधार र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गरेका छन् । उनले भने,'घटना भएको समयमा बालबालिकाहरू गेटमा झुण्डिएर खेलिरहेको र अचानक गेट लडेर दुर्घटना भएको हो।​मेरो जुलुस वा सवारी साधनले ठक्कर दिएको भन्ने कुरामा कुनै सत्यता छैन । ​घटनास्थलको मुचुल्कामा पनि स्थानीयले गेट लडेरै मृत्यु भएको बयान दिएका छन् । ​चुनावी माहोलमा मेरो चरित्र हत्या गर्न राजनीतिक प्रतिद्वन्द्वीले यो प्रपञ्च रचेका हुन् ।'

प्रहरीले किटानी जाहेरी लिन अस्विकार गरेपछि स्थानीय नागरिक समाज र अधिकारकर्मीहरूले समेत चासो देखाएका छन् । घटनाको प्रकृति र समय (निर्वाचनको पूर्वसन्ध्या) ले गर्दा पनि यसलाई शक्ति र पहुँचको आधारमा सामसुम पार्न खोजिएको आशंका गरिएको छ ।

पीडित परिवारले वर्तमान सरकार, गृहमन्त्री र प्रहरी महानिरीक्षक सम्म आफ्नो आवाज पुगोस् भन्ने चाहना राखेका छन् । उनीहरूले निष्पक्ष छानबिन दोषीलाई कानुनी कारबाही र लापरबाही गर्ने प्रहरी अधिकारीमाथि विभागीय अनुसन्धानको माग गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर