
रौतहटः सडक दुर्घटना न्यूनीकरण र सवारी नियम पालना गराउने उद्देश्यका साथ रौतहटमा सक्रियता बढाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको नियमित चेकजाँच अभियान अन्तर्गत शनिबार १२ वटा टेम्पो तथा अटो रिक्साहरूलाई कारबाही गरी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको मुख्य ढोका अगाडि गरिएको विशेष चेकजाँचका क्रममा आवश्यक कागजात ब्लु–बुक, सवारी चालक अनुमति पत्र र रुट परमिट नभएका ती सवारी साधनहरूलाई ट्राफिक प्रहरीले फेला पारेको हो । ट्राफिक प्रहरी सहायक निरीक्षक महतोको कमाण्डमा रहेका जवान मनिभुषण यादव तथा एमडी नुरुल हकले कागजात दुरुस्त नभएका र सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।
उनीहरूलाई प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम जरिवाना र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र छाडिने बताए ।पछिल्लो समय रौतहटमा बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सडक दुर्घटनाविरुद्ध युवा अभियान समेत सञ्चालन गरिरहेको छ। गति जीवन क्षति भन्ने नाराका साथ युवाहरूलाई सडक सुरक्षामा जिम्मेवार बनाउन यो अभियान केन्द्रित रहेको महतोले बताए ।
ट्राफिक प्रहरीले सवारी चालकहरूलाई निम्न लिखित महत्वपूर्ण निर्देशनहरू पालना गर्न पुनः अनुरोध गरेको छ। ‘सडक सुरक्षा, हाम्रो प्रतिबद्धता भन्ने उद्देश्यलाई सफल पार्न सबै नागरिक र विशेष गरी युवा वर्गलाई ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले अपिल गरेको छ।