२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

‘छोरीले सक्दैनन्’ भन्ने सोच तोड्ने सीता पोख्रेलको प्रेरणादायी यात्रा

Nada
सपना बोहरा
२०८२ चैत २२ गते १६:०८
Shares
‘छोरीले सक्दैनन्’ भन्ने सोच तोड्ने सीता पोख्रेलको प्रेरणादायी यात्रा

दाङ : 'छोरीले गरेर देखाउन सक्दैनन्' भन्ने समाजको गहिरो धारणा सीता पोख्रेलका लागि चुनौती मात्रै होइन, लक्ष्य पनि बन्यो । त्यही चुनौतीलाई ऊर्जा बनाउँदै उनले पछिल्लो नौ महिनामा लगातार आठ वटा लोकसेवा सम्बन्धी परीक्षामा नाम निकालेर एक असाधारण उपलब्धि हासिल गरेकी छन् ।

ncell

प्युठानमा जन्मिएकी सीता विवाहपछि दाङ बसोबास गर्न थालिन् । २०७४ सालमा विवाह गरेपछि नै उनले आफ्नो करिअरलाई नयाँ दिशामा अघि बढाइन् । उनले यो सफलता दुधे बालक हुर्काउँदै, घरमै स्वअध्ययन गरेर हासिल गरेकी हुन् । बाह्य कोचिङ वा विशेष सुविधा बिना आफ्नै अनुशासन र दृढताले उनले यो उचाइ चुमिन् ।

उनको तयारी यात्रा २०८१ साल माघमा नेपाल आयल निगमको परीक्षा दिएसँगै सुरु भएको थियो । नतिजा कुर्दै गर्दा उनले अन्य संस्थाका विज्ञापनहरू पनि पछ्याउन थालिन् । त्यसपछि २०८२ असारमा उनले नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालय सेवा आयोग र गुठी संस्थानका परीक्षामा सहभागिता जनाइन् । क्रमशः नतिजा प्रकाशित हुँदै जाँदा उनले सबैमा नाम निकाल्न सफल भइन् । कतिपय परीक्षामा उनले उत्कृष्ट स्थानसमेत हासिल गरिन् ।

'तिज, दशैँ, तिहार जस्ता चाडपर्व पनि खासै मनाउन पाइएन,' उनी सम्झिन्छिन्, 'सामाजिक सञ्जालसमेत चलाइनँ, घरमै बसेर निरन्तर पढिरहें । आज त्यसैको फल पाएको छु ।'

No description available.

हाल उनी नेपाल विद्युत् प्राधिकरण, रामेछापमा सातौं तहकी प्रशासनिक अधिकृतका रूपमा कार्यरत छिन् । तर उनको लक्ष्य एकैपटक धेरै ठाउँमा नाम निकाल्नु थिएन । 'नतिजा आउन ढिलो हुने भएकाले ढुक्क थिइनँ,' उनी भन्छिन्, 'त्यसैले सम्भव भएसम्म सबै परीक्षा दिएँ, नतिजा भने सोचेभन्दा राम्रो आयो ।'

उनको सफलताको पछाडि परिवारको साथ महत्वपूर्ण रह्यो । विशेषगरी उनका श्रीमान् माधवमणि पौडेल । पौडेल कानुन मन्त्रालयमा सुब्बा पदमा कार्यरत छन् । उनले सीतालाई निरन्तर हौसला र सहयोग दिए ।'उहाँले सधैं माथिल्लो तहमा लक्ष्य राख्न प्रेरित गर्नुभयो,' सीता भन्छिन्, 'पढाइका लागि दिनुभएको साथ नै मेरो मुख्य ऊर्जा बन्यो ।'

अहिले पाँच वर्षका छोराको हेरचाहसँगै उनले अध्ययनलाई निरन्तरता दिइरहेकी छिन् । शैक्षिक यात्रामा उनले प्लस टु पाल्पाबाट, स्नातक दाङबाट र स्नातकोत्तर काठमाडौंबाट पूरा गरेकी छन् । विज्ञान विषयमा स्नातकोत्तर गरेकी सीताको लोकसेवा क्षेत्रमा सफलता धेरैका लागि आश्चर्यको विषय बनेको छ ।

No description available.

'विवाहअघि ब्याचलर सकेकी थिएँ, विवाहपछि एमएससी पनि पूरा गरें,' उनी भन्छिन्, 'बीचमा छोरा जन्मिँदा केही समय ढिलो भयो, तर लक्ष्य छोडिनँ । सरकारी जागिर खानुपर्छ भन्ने सोच बलियो थियो ।'

सीताको प्रेरणाको जरो भने बाल्यकालमै रोपिएको थियो । पाँच बहिनीमध्ये माइली छोरीका रूपमा हुर्किँदा उनले समाजका अनेक टिप्पणीहरू सुन्नुपर्‍यो, 'छोरीलाई पढाएर के हुन्छ र ?' जस्ता प्रश्नहरूले उनको मनमा गहिरो असर पारे । तर उनका आमाबुबाले ती कुरालाई बेवास्ता गर्दै छोरीहरूलाई पढाए ।

'त्यही कुरा मनमा इख बनेर बस्यो,' उनी भन्छिन्, 'केही गरेर देखाउनुपर्छ भन्ने भावना झन् बलियो बन्यो ।' अध्ययनमा सधैं उत्कृष्ट रहँदै उनले कहिल्यै हार मानिनन् । 'माइतीमा पाँच दिदीबहिनी मात्र हुँदा छरछिमेकका कुरा मनमा पोल्थ्यो,' उनी सम्झिन्छिन्, 'त्यही इखले अझ मेहनत गर्न सिकायो ।'

आज उनको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सामाजिक सन्देश पनि बनेको छ । उनी भन्छिन्, 'मनदेखि आँट हुनुपर्छ, मिहिनेत गरेपछि सफलता अवश्य मिल्छ ।'

अहिले उनी लोकसेवा तयारी कक्षाहरूमा समेत आमन्त्रित हुन थालेकी छन् भने युवाहरूका लागि प्रेरक वक्ताका रूपमा पनि सक्रिय बन्दै गएकी छन् । सीताको कथा केवल एक व्यक्तिको सफलता होइन, यो समाजमा अझै बाँकी रहेको विभेदविरुद्धको सशक्त उत्तर हो ।

No description available.

ताजा खबर

सम्बन्धित खबर