
रौतहट : सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा सुदृढीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । यसै क्रममा रौतहटको सदरमुकाम गौरसहित तीन स्थानमा निर्माण सम्पन्न नयाँ भवनहरू आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण अन्तर्गत सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरको नवनिर्मित भवन सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले उद्घाटन गरे । दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको उक्त भवनले सीमा सुरक्षा र तस्करी नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरूको कार्यसम्पादनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डिआइजी ढकालले भौतिक पूर्वाधारको उपलब्धताले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे । उनले निर्माण भएका संरचनाहरू नेपाली जनताको करबाट बनेको उल्लेख गर्दै इमान्दारी र व्यावसायिकतासहित कर्तव्य निर्वाह गर्न निर्देशन दिए । संगठनको नीति विपरीत काम गर्ने जो-कोहीलाई कारबाही गरिने चेतावनी दिँदै उनले सीमा सुरक्षा र नागरिक सेवा नै प्राथमिकता हुनुपर्ने बताए ।
सीमावर्ती क्षेत्रको संवेदनशीलता औंल्याउँदै ढकालले सानातिना जीविकोपार्जनका लागि ल्याइने सामग्रीलाई ठुलो तस्करीसँग नजोड्न आग्रह गरे । त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याई भन्सार राजस्व बुझाउन प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सीमित स्रोत–साधनका बाबजुद सशस्त्र प्रहरीले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । अनुगमनका क्रममा सुरक्षाकर्मीहरू कष्टकर अवस्थामा सीमा पहरेदारी गरिरहेको देखिएको उल्लेख गर्दै उनले आवास र भौतिक सुविधामा सुधार हुनु सकारात्मक कदम भएको बताए ।

समारोहमा गौर नगरपालिका–१ का अध्यक्ष लालबाबु चौधरी, नगर बोर्ड सदस्य तथा सुदर्शन आँखा अस्पतालका प्रमुख डा. हरिश्चन्द्र झा लगायतलाई भवन निर्माणमा पुर्याएको सहयोगका लागि कदरपत्र र सम्मान प्रदान गरिएको थियो ।
गौरस्थित भवन उद्घाटनसँगै डिआइजी ढकालले आइतबार नै रौतहटको इशनाथ नगरपालिका–औरैया र राजदेवी नगरपालिका–बेलविछवामा निर्माण गरिएका थप दुई भवनको पनि उद्घाटन गरे ।
कार्यक्रममा सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले डिआइजी ढकाललाई मायाको चिनो प्रदान गरेका थिए । गुल्मपति प्रेमसागर विष्टका अनुसार कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश महिला संघकी अध्यक्ष संगिता सुवेदी, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहको अवसरमा प्रमुख अतिथि तथा अन्य पदाधिकारीहरूले गुल्म परिसरमा वृक्षारोपणसमेत गरेका थिए, जसले वातावरण संरक्षणको सन्देश दिएको छ ।