२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

कार्यालय समय फेरिँदा कतै सहज, कतै अस्तव्यस्त

Nada
सपना बोहरा
२०८२ चैत २४ गते ०६:४५
Shares
कार्यालय समय फेरिँदा कतै सहज, कतै अस्तव्यस्त

काठमाडौं : सरकारले सोमबारदेखि लागू हुनेगरी सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने निर्णय गर्‍यो । मन्त्रिपरिषद्को आइतबारको बैठकको यो निर्णयसँगै कार्यालयका कर्मचारीको नियमित जीवनशैली नै फेरिएको छ । सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयसँगै कार्यालय समय फेरिएको हो । 

ncell

पहिलो दिन बिहान ९ बजे नै सिंहदरबार गेटमा कर्मचारीको दौडादौड थियो । दुई मन्त्रीहरू, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खड्क पौडेल समयमै कार्यालय पुगिसकेका थिए । कर्मचारीमध्ये काखेनानी भएका महिला कर्मचारीलाई पनि भ्याइनभ्याइ भएको देखियो । बिहान ५ बजे उठेर नित्यकर्ममा लाग्ने कर्मचारीलाई अफिस भेटाउन बिहान ४ बजे उठ्नुपरेको एक महिला कर्मचारीले बताइन् । 

अन्य दिन ९ बजे घरबाट निस्कने उनी सोमबार भने आठैबजे तयार भइसकेकी थिइन् । ‘सुरुका दिनमा बिहानको गृहिणीको कामदेखि कार्यालय समय व्यवस्थापन गर्न केही अप्ठ्यारो होला, त्यसपछि बानी पर्दै जान्छ ।’ बिहान ९ बजेदेखि नै कार्यालय खुल्ने भएपछि विशेषगरी गृहिणी महिलाका लागि केही समस्या हुने उनी बताउँछिन् । ‘गृहस्थी पनि व्यवस्थापन गर्नुपर्‍यो, कार्यालयको काम पनि गर्नुपर्‍यो,’ उनले भनिन्, ‘सहज बनाउँदै जाने हो ।’

सिद्धकुमाख गाउँपालिकाका प्राविधिक सहायक चन्द्रबहादुर केसीलाई घरदेखि कार्यालय जान मोटरसाइकलमा एक घण्टा लाग्छ । हिँडेर जाने सेवाग्राहीलाई भने पाँच घण्टासम्म पनि लाग्ने उनी बताउँछन् । ‘बिहान ९ बजेदेखि कार्यालय खुल्ने समय पहाडी क्षेत्रका सेवाग्राहीका लागि राम्रो हो,’ उनले भने, ‘पाँच घण्टासम्म पैदल हिँडेर पालिकामा सेवा लिन आउने सेवाग्राही पनि छन् ।’ अन्य दिन बिहान ९ बजे कार्यालय जाने उनी बिहान ८ बजे घरबाट हिँड्नुपर्नेछ । 

‘ग्रामीण भेगमा सवारीसाधनको पहुँच हुँदैन, सेवाग्राही त बिहानै आएर बस्नुभएको हुन्छ,’ उनले भने, ‘सेवाग्राहीको हकका लागि त ठिकै छ, प्रभावकारी नै देख्छु म त ।’ भूगोलका कारण सेवाग्राहीलाई बिहानै कार्यालय खोल्दा प्रभावकारी हुने उनले बताए ।

महिला आयोगकी उपसचिव रोशनीदेवी कार्की सरकारी कार्यालयको कार्यतालिका फरक भए पनि गृहिणी महिला कर्मचारीको तालिकामा प्रभाव नपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘महिलामैत्री कार्यालय खोज्ने हो भने यसअघि १० बजेदेखि खुल्ने कार्यालय पनि महिलाका लागि थिएन ।’ गृहिणी कर्मचारी महिलाहरू पनि समयअनुसार रूपान्तरण हुँदै गएको उनी बताउँछिन् । ‘कार्यालय चल्ने भनेकै टिमले हो, एउटा कर्मचारी ढिला आयो भने सबै काममा प्रभाव त पर्छ नै,’ उनले भनिन्, ‘समयअनुकूल आफूलाई पनि परिमार्जन गर्दै लैजानुपर्छ ।’ सरकारले गृहिणी महिला कर्मचारीका लागि ‘चाइल्ड केयर सेन्टर’को पनि व्यवस्था गरिदिनुपर्ने उनले बताइन् । ‘गृहिणी महिला कर्मचारीका लागि त कार्यालयमा थकान मार्न आएजस्तो लाग्छ,’ उनले भनिन्, ‘कार्यालयको कामकारबाहीमा कुनै प्रभाव पर्दैन ।’ सरकारले गरेको यो निर्णय कहिलेसम्म टिक्ने हो, त्यो हेर्न बाँकी नै रहेको उनी बताउँछिन् । 

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरको मेयर हुँदादेखि नै शनिबार र आइतबार बिदा दिन उपयुक्त हुने बताउँदै आएका थिए । यद्यपि, सरकारले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहजताका कारण यस्तो निर्णय गरेको जनाएको छ । 

‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।  त्यस्तै, बैठकको निर्णयको अर्को बुँदामा भनिएको छ, ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।’ 

सम्बन्धित खबर