
काठमाडौँ : फोन डायल गर्दा सामान्य त्रुटिबाट सुरु विवादले दाजुभाइको ज्यान लिएको छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २६ वर्षीय सृजन नेम्बाङ छन् । चैत २५ को साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । उपचारको क्रममा बिएण्डबी अस्पतालमा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ । दुईपक्षको बिचमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो ।
प्रहरीका अनुसार सुमित नेम्बाङले डायल गरेको नम्बर गलत भएर सञ्जीव नेपालीको मोबाइलमा पुग्छ । उनीहरूबीच फोनमै अभद्र कुराहरू हुन्छ । जसले गलत नम्बर डायल गरे ति व्यक्तिले पटक-पटक फोन गरेर अर्को व्यक्तिलाई दुख दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
‘अपराध गर्ने सञ्जु भनिने सञ्जीव नेपाली अलि सन्काहा जस्तो देखिन्छ’, एसएसपी बोगटी भन्छन्, ‘आँखा पनि चिम्लिन नपाउने अवस्थामै उसले दुइ दाजुभाइको हत्या गरेको छ ।’ उनले एउटा परिवारले एकैचोटी दुइ छोरा घुमाउनु निकै दुखद भएको बताए ।
यसरी भएको थियो घटना
इमाडोल घर भएका नेम्बाङ दाजुभाइ आफ्ना केही साथीहरूसित मंगलबजार घुम्न निस्किएको र त्यही बेला गलत नम्बर डायल गरी अर्को व्यक्तिलाई फोन गरेको बुझिएको छ । फोनमा विवाद भइरहँदा सञ्जीवले फोनमा नकराउन, बरु हिम्मत भए पाटनमै आउन धम्की दिएपछि नेम्वाङ दाजुभाइ पाटन पुगेको देखिन्छ ।
यही विषयमा सामान्य विवाद हुँदा घटनाले ठुलो रूप लिन पुग्छ । सुरुमा सुमित नेम्बाङ सञ्जीवसँग कुरा गर्न गएको देखिन्छ । नियोजित रूपमा छुरा बोकेर आएका सञ्जीवमाथि सुमितले हात समाएर मुक्का प्रहार गर्छन् । यसैक्रममा सञ्जीवले सुमितमाथि छुरा प्रहार गरेको देखिन्छ । दाइमाथि छुरा प्रहार भएपछि भाइ सृजन पनि छुट्याउन जान्छन् तर उनीमाथि पनि छुरा प्रहार हुन्छ । प्रहरीका अनुसार कसैले पनि बचाउन नसक्ने स्थिति पैदा हुन्छ ।
घटना घटेको ३ मिनेटभित्र प्रहरी घटनास्थल पुग्दा हत्यामा संलग्न सञ्जीव त्यहाँबाट भागिसकेका हुन्छन् । छुरा बोकेरै भागेको अवस्थामा एकजना महिला प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल हुन्छिन् ।
घटनाको खबर पाएलगत्तै सातदोबाटो र पुल्चोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । छुरा प्रहारमा संलग्न नेपाली र नवलपरासी गैँडाकोट घर भएर ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार नेम्वाङ दाजुभाइ केहीसमय पछि लण्डन जाने तयारीमा थिए । उनीहरूकी आमा लण्डनमा बस्दै आएकी छन् ।