२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

‘बिचौलिया’ शब्दप्रति आपत्ति जनाउँदै लेखापढी व्यवसायीको विरोध, पक्राउ परेकालाई रिहा गर्न माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत २६ गते १२:५७
Shares
‘बिचौलिया’ शब्दप्रति आपत्ति जनाउँदै लेखापढी व्यवसायीको विरोध, पक्राउ परेकालाई रिहा गर्न माग

रौतहट : नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले आफूहरूलाई ‘बिचौलिया’ भन्दै राज्य पक्षबाट गरिएको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै उक्त शब्द तत्काल सच्याउन माग गरेको छ । एसोसिएसनका रौतहटस्थित गौर, चन्द्रपुर, गरुडा र मौलापुर इकाइ समितिहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन–पत्र बुझाउँदै सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

ncell

गरुडा इकाइ अध्यक्ष प्रेमलाल साहका अनुसार लेखापढी व्यवसायीहरू अदालतबाट इजाजत प्राप्त गरी तथा मालपोत कार्यालयमार्फत भू–सेवा केन्द्र सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर कानुनी रूपमा सेवा दिँदै आएका छन् । उनीहरूले तोकिएको पारिश्रमिकमा सेवाग्राहीको काममा सहजीकरण गर्ने र साक्षी बस्ने भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै त्यस्तो अवस्थामा ‘बिचौलिया’ जस्तो शब्द प्रयोग गरिनु अपमानजनक भएको ज्ञापनपत्रमा उल्लेख छ ।

एसोसिएसनले राज्य पक्षले बिना आधार र प्रमाण बल प्रयोग गरी गौर मालपोत कार्यालयबाट चार जना र चन्द्रपुर मालपोत कार्यालयबाट एक जना गरी पाँच जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको घटनाप्रति पनि गम्भीर आपत्ति जनाएको छ । पक्राउ परेकाहरू निर्दोष रहेको दाबी गर्दै उनीहरूलाई तत्काल बिना सर्त रिहा गर्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसमक्ष माग गरिएको छ ।

गौर, चन्द्रपुर, गरुडा र मौलापुर इकाइहरूको संयुक्त बैठकको निर्णयअनुसार ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाउने टोलीमा जिल्ला अध्यक्ष हरेन्द्र साह, गरुडा अध्यक्ष प्रेमलाल साह, चन्द्रपुर अध्यक्ष दिपनारायण चौधरी र मौलापुर अध्यक्ष बाल्देवप्रसाद यादवलगायत पदाधिकारी सहभागी थिए ।

ज्ञापनपत्रमा अध्यक्ष हरेन्द्र साह, उपाध्यक्ष शिवशंकर भगत, सचिव राजेश कुमार श्रीवास्तव, सह–सचिव हरिशंकर प्रसाद यादव, कोषाध्यक्ष भागवत राय यादव तथा सदस्यहरू जियालाल भगत, सत्यनारायण राय यादव, सोहन प्रसाद गुप्ता, सुरेन्द्र साह तेली, विरेन्द्र साह, आनन्द किशोर महतो र धनाई राय यादवलगायतको ऐक्यबद्धता जनाइएको छ ।

एसोसिएसनले आफ्ना मागहरू सम्बोधन नभए र प्रयोग गरिएको अपमानजनक शब्द नसच्याइए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

No description available.

सम्बन्धित खबर