
रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटमा हिजोआज एउटा फरक र सकारात्मक दृश्य देख्न सकिन्छ । कार्यालयका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल आफै नागरिकता फाँटमा बसेर सेवाग्राहीका समस्या सुन्ने र कार्यसम्पादनलाई तीव्रता दिने कार्यमा सक्रिय देखिएका छन् ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने तथा अन्य प्रशासनिक सेवा लिने सेवाग्राहीको चाप अत्यधिक बढेको छ । विशेषगरी नागरिकता फाँटमा हुने भीडभाड र अव्यवस्थालाई मध्यनजर गर्दै सेवा प्रवाहलाई थप चुस्त दुरुस्त र पारदर्शी बनाउन प्रजिअ भुसाल स्वयं फाँटमा खटिएका हुन् ।
सरकारले सेवाग्राहीको चापलाई हेरेर कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ । सोही समयको पूर्ण पालना गर्दै प्रजिअ भुसालले सेवामा कुनै पनि प्रकारको ढिलासुस्ती वा अवरोध नहोस् भन्ने उद्देश्यले प्रत्यक्ष रूपमा सेवाग्राहीसँग समन्वय गरिरहेका छन् । उनी आफै फाँटमा उपस्थित भएपछि कर्मचारीहरूमा कार्यकुशलता बढेको र सेवाग्राहीले लाइनमा बस्दा भोग्नुपर्ने सास्तीमा कमी आएको पाइएको छ ।
नागरिकता फाँटमा हुने बिचौलियाको चलखेल र प्रशासनिक ढिलासुस्तीलाई नियन्त्रण गर्न प्रजिअको यो कदम प्रभावकारी सावित भएको स्थानीयको ठहर छ । प्रजिअ भुसालले टोकन प्रणाली र कागजातको प्रारम्भिक जाँचमा समेत सहजीकरण गरिदिँदा काम छिटो र सहज रूपमा हुन थालेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साहका अनुसार सेवा लिन आउने हरेक नागरिक सन्तुष्ट भएर घर फर्किउन् भन्ने प्रजिअको मुख्य उद्देश्य हो । उनले केवल आदेश दिने मात्र नभई स्वयं कार्यस्थलमा बसेर समस्याको पहिचान र समाधानमा लागेका छन् ।
साहले थपे उनको प्रत्यक्ष निगरानीले गर्दा प्रशासनिक काममा हुने सानातिना प्राविधिक त्रुटीहरू पनि तत्कालै समाधान भइरहेका छन् ।
प्रशासनको यस प्रकारको जनमुखी कार्यशैलीप्रति सेवाग्राहीहरूले निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । सेवा लिन आएका स्थानीय राहुल कुमार सिंहले भने ‘प्रमुख जिल्ला अधिकारी नै फाँटमा बसेर काम गरेको देख्दा अचम्म लाग्यो र खुसी पनि लाग्यो । यसले हामी सर्वसाधारणलाई सरकारी निकायप्रति भरोसा बढाएको छ ।’
प्रजिअ भुसालको यो सक्रियताले सुशासनको प्रत्याभूति दिलाउनुका साथै कर्मचारीहरूलाई पनि आफ्नो जिम्मेवारीप्रति थप जिम्मेवार बनाएको छ । रौतहट प्रशासनको यो पहलले जिल्लाका अन्य सरकारी कार्यालयहरूका लागि पनि एउटा अनुकरणीय उदाहरण पेश गरेको छ ।