२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

यातायात व्यवस्था कार्यालय गौरमा 'हेल्प डेस्क' प्रभावकारी, बिचौलियाको जालो तोडिँदै, सेवाग्राही उत्साहित

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत २७ गते २०:३०
Shares
यातायात व्यवस्था कार्यालय गौरमा 'हेल्प डेस्क' प्रभावकारी, बिचौलियाको जालो तोडिँदै, सेवाग्राही उत्साहित

रौतहट : रौतहटको सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहमा व्यापक सुधार आएको छ । कार्यालयले सेवाग्राहीको सहजताका लागि ’हेल्प डेस्क’ (सहायता कक्ष) सञ्चालनमा ल्याएपछि कार्यालय परिसरमा वर्षौंदेखि जरा गाडेर बसेका बिचौलियाहरूको सक्रियता शून्यमा झरेको छ ।

ncell

पछिल्लो समय कार्यालय प्रमुख अमिन्द्र दासको सक्रियता र सुधारमुखी कदमका कारण सेवाग्राहीले विना झन्झट छिटो र छरितो रूपमा सेवा पाउन थालेका हुन् । विगतमा सामान्य कामका लागि पनि बिचौलियाको भर पर्नुपर्ने र अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता रहेकामा अहिले हेल्प डेस्कले कर्मचारीहरूकै प्रत्यक्ष सहयोग उपलब्ध गराएपछि त्यो अवस्था अन्त्य भएको हो ।

कार्यालयमा कामको सिलसिलामा भेटिएका यमुनामाई गाउँपालिका वडा नं ४ सरुअठाका सेवाग्राही बिकी रामले कार्यालयको बदलिएको स्वरूप र कार्यशैलीप्रति खुसी व्यक्त गरे । उनले भने ‘पहिले यहाँ आउँदा को कर्मचारी हो र को बिचौलिया हो भनेर छुट्याउनै गाह्रो हुन्थ्यो । अहिले हेल्प डेस्क स्थापना भएपछि हामीलाई कुन कोठामा जाने र के गर्ने भन्ने सजिलै थाहा हुन्छ । हाकिम अमिन्द्र दासले सेवाग्राहीलाई प्रत्यक्ष भेटेर समस्या सुन्ने र छिटो छरितो सेवा दिने व्यवस्था मिलाउनुभएकोमा हामी धेरै खुसी छौं ।’

कार्यालय प्रमुख अमिन्द्र दासका अनुसार सरकारी कार्यालयमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभावलाई पूर्ण रूपमा नियन्त्रण गरी सुशासनको अनुभूति दिलाउन हेल्प डेस्कलाई प्राथमिकता दिइएको हो । ‘हाम्रो मुख्य उद्देश्य भनेको सेवाग्राहीलाई राज्यले दिने सेवा सहज रूपमा पु¥याउनु हो’, प्रमुख दासले भने, ‘सेवाग्राही आफैँ सचेत भएर हेल्प डेस्कको सहयोग लिँदा बिचौलियाले ठग्ने मौका पाउँदैनन् ।’ यातायात कार्यालयमा आएको यो सकारात्मक परिवर्तनले गर्दा टाढा–टाढाबाट आउने सेवाग्राहीहरूले राहत महसुस गरेका छन् । कार्यालयले आगामी दिनमा थप प्रविधिमैत्री सेवा विस्तार गर्ने र प्रशासनिक प्रक्रियालाई अझ सरल बनाउने लक्ष्य राखेको छ ।

सम्बन्धित खबर