२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सडक सुरक्षाका लागि गौरमा युवाहरूको सक्रियता, ‘लापसे’ र हेल्मेट प्रयोगमा कडाइ गर्न आग्रह

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत २७ गते २१:१५
Shares
सडक सुरक्षाका लागि गौरमा युवाहरूको सक्रियता, ‘लापसे’ र हेल्मेट प्रयोगमा कडाइ गर्न आग्रह

रौतहट : बढ्दो सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित सडक यात्रा सुनिश्चित गर्ने उद्देश्यका साथ रौतहटको सदरमुकाम गौरमा विशेष सडक सुरक्षा अभियान सञ्चालन गरिएको छ । ‘सडक सुरक्षा हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ युवाहरूले चालकहरूलाई सचेत गराउँदै यो अभियान अगाडि बढाएका हुन् ।

ncell

सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२ अन्तर्गत आयोजित यस कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गौरको प्राविधिक समन्वय रहेको थियो । गौरको मुख्य चोक तथा सडक खण्डहरूमा सवारी चालकहरूलाई रोकी उनीहरूलाई ट्राफिक नियम पालना गर्न र जिम्मेवार नागरिक बन्न अनुरोध गरिएको छ ।

अभियानका क्रममा युवाहरूले विशेष गरी दुईवटा मुख्य विषयमा केन्द्रित रहेर चालकहरूलाई परामर्श दिएका छन् । 

सवारी चलाउँदा कुनै पनि प्रकारको नसालु पदार्थ सेवन नगर्न कडा निर्देशन र सचेतना प्रदान गरिएको छ । लापसे गरी सवारी साधन नचलाउँ भन्ने सन्देश लेखिएका प्लेकार्ड र पर्चाहरू मार्फत चालकहरूलाई आफ्नो र अरूको ज्यान जोखिममा नपार्न आग्रह गरिएको छ । मोटरसाइकल तथा स्कुटर चालकहरूलाई हेल्मेट नलगाई सवारी साधन नचलाउँ भन्दै सुरक्षा कवचको महत्वबारे जानकारी दिइएको छ । दुर्घटनाको समयमा टाउकोमा हुने चोटबाट बच्न हेल्मेट अनिवार्य रहेको कुरामा युवाहरूले जोड दिएका छन् ।

ट्राफिक प्रहरी र युवाहरूको सहकार्य

जिल्ला ट्राफिक प्रहरी कार्यालय गौरका प्रतिनिधिहरूले युवाहरूको यो स्वतःस्फूर्त अभियानलाई उच्च प्रशंसा गरेका छन् । सडकमा खटिएका ट्राफिक अधिकारीहरूका अनुसार प्रहरीको एक्लो प्रयासले मात्र दुर्घटना कम गर्न सम्भव नहुने र यसरी समुदायका युवाहरू नै सडकमा ओर्लिंदा चालकहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।

सदरमुकाम गौरका विभिन्न स्थानमा चालकहरूसँग प्रत्यक्ष संवाद गर्दै युवाहरूले सडक सुरक्षा नियमहरूको पुस्तिका समेत वितरण गरेका थिए ।

सडक सुरक्षाः सबैको साझा दायित्व

कार्यक्रममा सहभागी युवा प्रतिनिधिहरूका अनुसार रौतहटमा पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटनालाई कम गर्न यो अभियान कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । ‘हाम्रो सानो लापरवाहीले कसैको घरको दियो निभ्न सक्छ, त्यसैले हामीले चालकहरूलाई आफ्नो जिम्मेवारी सम्झाउन यो अभियान सुरु गरेका हौं,’ एक सहभागीले बताए ।

यो अभियानले आगामी दिनमा जिल्लाका अन्य पालिका र ग्रामीण क्षेत्रहरूमा पनि निरन्तरता पाउने आयोजकले जनाए । सडक सुरक्षा केवल प्रहरीको काम मात्र नभइ हरेक नागरिकको प्रतिवद्धता हुनुपर्ने सन्देश यस कार्यक्रमले प्रवाह गरेको छ ।

सम्बन्धित खबर