२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

​रौतहटमा दिगो वन व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न, वैज्ञानिक पद्धतिमा जोड

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत २८ गते १४:५३
Shares
​रौतहटमा दिगो वन व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न, वैज्ञानिक पद्धतिमा जोड

रौतहट : ​वन स्रोतको दीर्घकालीन संरक्षण, वैज्ञानिक सदुपयोग र उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालय रौतहटको आयोजनामा दिगो वन व्यवस्थापन तथा संवर्धन प्रणाली कार्यान्वयन सुदृढीकरण सम्बन्धी एकदिने विशेष तालिम गोष्ठी सम्पन्न भएको छ । वन क्षेत्रका सरोकारवालाहरूबीच समन्वय र प्राविधिक समझदारी बढाउन आयोजित उक्त कार्यक्रमले वन व्यवस्थापनको आधुनिक आयामबारे स्पष्ट खाका प्रस्तुत गरेको छ ।

ncell

कार्यक्रमको समुद्घाटन गर्दै डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले वर्तमान समयमा दिगो वन व्यवस्थापन केवल विकल्प नभई अनिवार्य आवश्यकता बनिसकेको बताए । वनलाई केवल उपभोगको वस्तु ठान्ने परम्परागत सोचमा परिवर्तन आउनुपर्नेमा उनको जोड थियो । वन हाम्रो प्राकृतिक सम्पत्ति मात्र होइन, यो भावी पुस्ताको भविष्यसँग जोडिएको अमूल्य धरोहर हो। यसको वैज्ञानिक व्यवस्थापन बिना आर्थिक समृद्धि र वातावरणीय सुरक्षा सम्भव छैन, अधिकृत साहले भने ।

उनका अनुसार दिगो वन व्यवस्थापनले जैविक विविधताको रक्षा, जलवायु परिवर्तनको न्यूनीकरण र स्थानीय समुदायको आयआर्जनमा समेत प्रत्यक्ष टेवा पुर्‍याउनेछ ।

तालिमको प्राविधिक सत्रमा वन अधिकृत अनिल कुमार महतोले दिगो वन व्यवस्थापनका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो । उनले वनको योजनाबद्ध कटान, वृक्षारोपण, डढेलो नियन्त्रण र जैविक विविधता संरक्षणमा वैज्ञानिक पद्धति अपनाउनु पर्नेमा जोड दिए । ​महतोले स्पष्ट पारे कि स्थानीय समुदायको सक्रिय सहभागिता बिना कुनै पनि वन नीति सफल हुन सक्दैन । दिगो व्यवस्थापनले काठ, दाउरा र जडीबुटीको निरन्तर आपूर्ति सुनिश्चित गर्दै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उनको विश्लेषण थियो ।

गोष्ठीका क्रममा वन क्षेत्रमा देखिएका प्रमुख अवरोधहरूबारे सरोकारवालाहरूबीच घनीभूत छलफल भएको थियो । सहभागीहरूले मुख्य चुनौतीका रूपमा निम्न बुँदाहरू औंल्याएका थिए ।

अवैध वन कटानी र तस्करी, ​वन क्षेत्रमा बढ्दो अतिक्रमण, ​जनचेतनाको अभाव र सीमित प्राविधिक जनशक्ति,​स्रोत–साधनको न्यून उपलब्धता, ​यी समस्या समाधानका लागि स्थानीय तह, वन कार्यालय र समुदायबीच त्रि-पक्षीय सहकार्य र प्रभावकारी समन्वय हुनुपर्ने निष्कर्ष निकालिएको थियो ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन जिल्लाका हातेमालो, तिलेश्वर र भोर्लेनी सामुदायिक वन उपभोक्ता समूहको स्थलगत भ्रमण समेत गराइएको थियो । भ्रमणका क्रममा सहभागीहरूले वन व्यवस्थापनका अभ्यास, वृक्षारोपणको अवस्था र संरक्षणका उपायहरूको प्रत्यक्ष अवलोकन गरेका थिए ।

वन अधिकृत माहालक्ष्मी शर्माले सञ्चालन गरिएको उक्त कार्यक्रममा समूहगत छलफल र अनुभव आदान–प्रदानलाई प्राथमिकता दिइएको थियो । स्थलगत अवलोकनपछि सहभागीहरूले दिगो व्यवस्थापनले वनको उत्पादकत्व बढाउनुका साथै स्थानीयको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वन प्राविधिक, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता तालिमले आफ्नो कार्यक्षमता र प्राविधिक ज्ञानमा वृद्धि पुर्‍याएको बताउँदै सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए ।

​समग्रमा, यो गोष्ठीले रौतहटको वन संरक्षण र व्यवस्थापनमा नयाँ रणनीतिक दिशा प्रदान गर्दै दिगो विकासको लक्ष्य प्राप्तिमा महत्वपूर्ण इँटा थप्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर