
रौतहट : सवारी दुर्घटना न्यूनीकरण तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ रौतहट जिल्लामा ट्राफिक प्रहरीले आफ्नो सक्रियतालाई व्यापक बनाएको छ । जिल्लाको सदरमुकाम गौर लगायत विभिन्न संवेनदशिल क्षेत्रहरूमा ट्राफिक प्रहरीले आकस्मिक चेकजाँचलाई तीव्रता दिएको हो ।
यसै अभियानअन्तर्गत शनिबार जिल्ला प्रहरी कार्यालय गौरको मुख्य प्रवेशद्वार अगाडि विशेष चेकजाँच सञ्चालन गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामबली महतोको कमाण्डमा खटिएको टोलीले सडकमा गुडिरहेका सवारी साधनहरूको प्राविधिक पक्ष र कागजपत्रको सुक्ष्म निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गरी चर्को र कानै खाने आवाज निकाल्ने (मोडिफाइड) साइलेन्सर जडान गरिएका ३ वटा मोटरसाइकल फेला परेका छन् । सर्वसाधारण र बिरामीहरूलाई समेत प्रत्यक्ष असर पुग्ने गरी चर्को आवाज निकालेर हिँड्ने ती मोटरसाइकलहरूलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई आवश्यक कानुनी प्रक्रिया र जरिवानाका लागि जिल्ला प्रहरी कार्यालय गौरको हाताभित्र राखिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने र ध्वनि प्रदूषण फैलाउने यस्ता सवारी धनीहरूलाई ट्राफिक नियम अनुसार हदैसम्मको कारबाही गरिने महतोले जनाए ।
कार्यस्थलमा खटिएका ट्रा.प्र.स.नि. महतोले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरिने बताए । उनले भन्ने, ‘कानुन भन्दा माथि कोही पनि छैन । कसैको पहुँच वा प्रभावको भरमा कानुन उल्लंघन गर्ने छुट कसैलाई दिइने छैन । जसले नियम मिच्छ उसले कानुनी कारबाही भोग्नैपर्छ ।’
पछिल्लो समय रौतहटमा सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएपछि प्रहरीले ठाउँ-ठाउँमा चेकजाँच बढाएको हो । विशेषगरी तीव्र गतिमा चलाउने, मादक पदार्थ सेवनगरी सवारी हाँक्ने र नियम विपरीत साइलेन्सर फेरेर ध्वनी प्रदूषण गर्ने चालकहरू प्रहरीको मुख्य निसानामा परेका छन् ।
यस सक्रियताले गौर नगर क्षेत्रमा हुने अव्यवस्थित सवारी आवागमनमा सुधार आउने र सडक सुरक्षामा टेवा पुग्ने विश्वास स्थानीयवासीले लिएका छन् । ट्राफिक प्रहरीले आफ्ना छोराछोरीलाई मोटरसाइकल दिँदा मोडिफाइड नगरिएको र सुरक्षित रहेको सुनिश्चित गर्न अभिभावकहरूलाई समेत आग्रह गरे ।