
काठमाडौँ : भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भयो । उनको निधन एक सांगीतिक युगको अन्त्य हो । उनले आफूसँगै आफ्ना स्वर, अनुभव र अनुभूति लिएर गईन् । अब शुभचिन्तकले कहिल्यै उनको ९२ वर्षपछिको स्वर सुन्न पाउने छैनन् ।
आफन्त परिवार र विश्वभर छरिएर रहेका शुभचिन्तक ‘अभी ना जाओ छोड़कर, ये दिल अभी भरा नहीं...’ भन्दै उनको भौतिक शरीरको अन्त्यलाई अस्वीकार गरिरहेका छन् । तर यी सबै प्राथना र कामना अब काम लाग्ने छैन ।
पारिवारिक पृष्ठभूमि
उनको जन्म ८ सेप्टेम्बर १९३३ भारतको एक सांगीतिक परिवारमा भएको थियो । उनका पिता पण्डित दीनानाथ मंगेशकर अभिनेताका साथै शास्त्रीय गायक थिए । आशा भोसले स्वर कोकिला लता मंगेशकरकी बहिनी हुन् । उनकी बहिनी उषा मंगेशकर पनि सांगीतिक दुनियाँमै छिन् ।
९ वर्षको उमेरमा पिताको निधनपछि उनको परिवारमा अभिभावक गुम्यो । पिताको निधनपछि उनको परिवार पुणेबाट कोल्हापुर र पछि मुम्बई सरेको थियो । घर चलाउनका लागि उनका परिवारका दिदीबहिनीले गाउन सुरु गरे ।
लताकै पथमा हिँडेकी आशाले जब आफ्नै दिदीको सेक्रेटरी गणपत राव भोसलेसँग विवाह गरिन् त्यसपछि परिवारमा विग्रह आयो । सांगीतिक दुनियाँमा चम्किरहेकै बेला उनले १६ वर्षको उमेरमा आफूभन्दा २० वर्ष जेठा केटासँग विवाह गरेपछि परिवारमा आउजाउ बन्द भयो । सांगीतिक क्षेत्रकी गुरु आफ्नै दिदीसँग उनको बोलचाल बन्द भयो ।
११ वर्ष सम्म उनी आफ्नो श्रीमानसँग बसिन् । पछि उनीहरूको सम्बन्धबिच्छेद भयो । उनले त्यो समयमा ३ सन्तानलाई जन्म दिइसकेकी थिइन् । उनले श्रीमानको परिवार रुढीबादी भएको आरोप लगाउदै अलग भएकी थिइन् । संगीत क्षेत्रमा आफ्नो पाइला रोक्ने प्रयास गरेपछि आफूले त्यो सम्बन्ध तोडेको उनले विभिन्न अन्तर्वार्ता बताइएकी थिइन् । सम्बन्धबिच्छेद पनि उनी माइत फर्केर आइसकेपछि मात्र उनीहरूको सम्बन्धमा आएको दुरी कम भएको थियो ।
पछि उनले चर्चित संगीतकार आर.डी. बर्मनसँग विवाह गरिन् । पहिले नै विवाह त्यसमाथि पनि ३ सन्तानकी आमा भोसलेलाई बर्मनको परिवारले अस्वीकार गरेको थियो । आर.डी. बर्मनकी आमाले त आशासँग विवाह गर्ने हो भने म आत्महत्या गर्छु भन्ने सम्मको धम्की दिएको भन्ने प्रसंग पनि चर्चित छ । आफ्नो छोरोभन्दा ६ वर्ष जेठी अनि ३ सन्तानको आमालाई बुहारी नस्वीकार्ने जिद्दी बर्मनकी आमाले गरे पनि सन् १९८० मा उनीहरूको विवाह भयो । उनीहरूले थुप्रै गीतमा सहकार्य गरे । सन् १९९४ मा बर्मनको मृत्युपछि आशा फेरी एक्लै भईन् ।
सांगीतिक यात्रा
१९४० को दशकको अन्त्यदेखि १९५० को दशकको सुरुवातसम्म उनले संगीतमा आउन संघर्ष गरिरहिन् । त्यतिबेला उनको आफ्नै दिदी लता चर्चित भईसकेकी थिइन् । गीता दत्त, शमशाद बेगम जस्ता चर्चित गायिकाको अगाडि आफूलाई उभ्याउन उनले लामै संघर्ष गर्नुपरेको थियो ।
उनले धेरै गीत गाइसकेकी थिइन् । तर सज्जाद हुसेनको संगीतमा बनेको फिल्म ‘संगदिल’ (१९५२)का गीतहरूलाई आवाज दिनुले आशा भोसलेलाई पहिचान दिलायो । ओ.पी. नैय्यर द्वारा निर्देशित फिल्म ‘छम छमा छम’मा उनले ११ मध्ये १० गीत पनि गाइन् । पछि बिमल रोयले उनलाई ‘परिणीता’ (१९५३) मा गाउने मौका दिए । राज कपूरको फिल्म ‘बूट पोलिश’ (१९५४)का सबै गीत गाउनका लागि साइन गरे, जसले उनलाई लोकप्रियता दिलायो ।
संघर्षका दिनमा स्वर राम्रो नभएको भन्दै गाउँदा गाउँदै स्टुडियोबाट उनलाई बाहिर निकाल्ने गरेको तितो प्रसंग उनले कहिलेकाहीँ निकाल्थिन् । कालान्तरमा उनलाई दिदी लताभन्दा पनि भर्सटायल गायिका भनेर मिडियाहरूले हाइलाइट गर्ने गर्थे । उनी रोमान्टिक, प्रेमपरक सबै गीत उत्तिकै न्याय दिएर गाउन सक्ने हिम्मत राख्थिन् ।
आशा भोसलेको करियर ७ दशकभन्दा लामो रह्यो । उनले विभिन्न युगका दिग्गज संगीतकारहरूसँग काम गरिन् । शंकर–जयकिशन, खैय्याम, रवि, सचिन देव बर्मन, आरडी बर्मन, ओपी नैय्यर, इलैयाराजा, बप्पी लहरी र ए.आर. रहमान उनले काम गरेका चर्चित संगीतकार हुन् ।
उनले २० भन्दा बढी भारतीय र विदेशी भाषामा गीत गाइन् । सन् २००६ मा उनले आफैं करिब १२ हजार गीत गाएको बताएकी थिइन् । ‘ग्रामी अवार्ड’का लागि नाम प्रयोग हुने उनी पहिलो भारतीय गायिका पनि हुन् ।
आशा भोसलेले मराठी फिल्म ‘माझा बाल’ (१९४३) मा ‘चला चला नाव वाला’ बाट आफ्नो गायनयात्राको औपचारिक सुरुवात गरेकी थिइन् । बलिउडमा भने उनको पहिलो गीत ‘चुनरिया (१९४८)’ फिल्मको ‘सावन आया’ थियो । सांगीतिक परिवारमा जन्मेर पनि आफूलाई चिनाउन उनले ठुलै संघर्ष गर्नुपरेको थियो । सुरुमा कोरसमा मात्र प्रयोग हुने आशाको आवाजले एक जमाना बलिउडमा राज गरेको थियो ।
नेपालमा पनि प्रिय आशा
उनी भारतमा मात्र हैन विश्वभर चर्चित छिन् । नेपालमा पनि उनी उत्तिकै विशेष र लोकप्रिय थिइन् । उनले थुप्रै नेपाली गीत गएकी छन् । उनले गएका सबै नेपाली गीत सदावहार छन् । नारायणगोपालसँग उनको गायन अझ विशेष जमेको देखिन्छ । नारायण गोपालसँग त आशा यति प्रभावित थिइन् कि उनले भारतमै बसेर संगीतकर्ममा लाग्न सुझावसमेत दिएकी थिइन् ।
उनले गाएका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् । ‘मोहनी लाग्ला है...’ ,‘पहाडको माथि–माथि घुम्दै उडेर’, ‘यति धेरै माया दियौ’, ‘म प्यार बेचिदिन्छु’, ‘एउटा मान्छे मन पर्छ’, ‘गैह्री गीतको शिरै हान्यो’, ‘पहाडको माथि माथि’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘तिम्रो मनमा लुकेका कुरा’, ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ लगायत दर्जनौं गीत छन् जुन आज पनि उत्तिकै प्रिय छन् ।
नेपाली चलचित्रमा उनको स्वरको जादु छुट्टै थियो । निर्देशक तुलसी घिमिरे उनको आवाजमा जादु भएको बताउँछन् । उनले आफ्नो डेब्यु चलचित्र बासुरीमा आशाको स्वरमा गीत रेकर्ड गराएका छन् । रञ्जित गजमेरसँग पहिले देखि नै आशाको चिनजान थियो । गजमेरकै साथ लागेर आशाको स्वरमा गीत रेकर्ड गर्न उनी मुम्बई पुगेका थिए ।
‘पैसा कितना देगा’ आशा भोसलेले पहिलो पटक गरेको कुराकानी सम्झिँदै उनी भन्छन्,‘मैले दिदी सानो फिल्म बनाउँदैछु, तपाईंले गाइदिनुपर्यो भनेको थिए, उहाँले ठट्टा गर्दै पैसा कति दिन्छौ भन्नुभयो । पछि रञ्जिततर्फ हेर्दै म गाउँछु, गीत तयार गर भनेपछि मेरो खुसीको सिमा नै रहेन ।’ आशाले ‘बाँसुरी’ का दुई गीत गाइन् । ‘मिरमिरे साँझमा सिमसिमे पानी’ र ‘झझल्को लिएर आएछ सावन, फेरी आँखामा’ बोलको गीत आज पनि उत्तिकै प्रिय छन् ।
आशा नेपाललाई अत्यन्तै माया गर्ने भारतीय गायिका भएको घिमिरे सुनाउँछन् । ‘नारायणगोपाल उहाँको मन पर्ने गायक हुनुहुन्थ्यो’ तुलसी भन्छन्,‘उहाँले थुप्रै गीत गाउनुभयो, नेपाली गीत गाउँन कहिले नाईं भन्नुभएन ।’ उनको आवाजमा गीत रेकर्ड गर्नु नेपाली संगीतका लागि त्यो जमानाको उपलाब्शी भएको घिमिरे स्वीकार्छन् ।
नेपाली संगीतमा विदेशी कलाकारको सहभागिता त्यति धेरै नभएको अवस्थामा आशा भोसलेको योगदानलाई उल्लेखनीय मान्न सकिन्छ । संगीत समीक्षकहरूका अनुसार भोसलेको आवाजमा एकप्रकारको मिठास, लचकता थियो । त्यही मिठास र नयाँपनले नै उनले नेपाली श्रोताको मत जितिन् ।
संगीतकार शम्भुजीत बासकोटाले भोसलेलाई नेपाली संगीतको सच्चा हितैषीका रूपमा चित्रित गरे ।
‘आशा भोसलेको निधनको खबरले निकै दुःखी बनायो,’ बासकोटाले भने, ‘२०४० सालतिर काठमाडौंको विशाल बजारमा पहिलो पटक उहाँसँग भेट भएको थियो । उहाँ आर.डी. बर्मनसँग घुम्न आउनुभएको थियो । त्यही बेला मैले आफूलाई नेपाली संगीतकार भनेर चिनाएको थिएँ ।’ त्यही चिनजानपछि आशासँग सहकार्यको ढोका खुलेको बास्कोटा सम्झिन्छन् ।
बास्कोटाको संगीतमा आशाले ‘छुन्छन् तिमीलाई चञ्चल हावा’, ‘गैह्री खेतको सिरै हान्यो’,‘तिम्रो आँखाको सागरमा…’ लगायतका गीत गाएकी छन् ।
‘काठमाडौंमा भेट हुँदा पनि उहाँले नयाँ गीतबारे सोध्नुभएको थियो । मैले बनाउँछु भनेको थिएँ, तर त्यो सम्भव हुन सकेन,’ उनी भन्छन् ‘मेरा सृजनालाई अलौकिक आवाजले सिंगारेर मेरो संगीतलाई गर्विलो बनाइदिनुभएकोमा म यसलाई आफ्नो जीवनको आशीर्वादको रूपमा लिएको छु । ’
उनको भौतिक शरिर अन्त्य भए पनि भावनात्मक रूपमा सधैं जीवित रहिरहनेछिन् । अलबिदा प्रिय गायिका ‘आशा ताइ’ उर्फ आशा भोसले ।