२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

लालबकैया नदीमा निर्माणाधीन पुलको कामले लियो गति

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत ३० गते १५:५२
Shares
लालबकैया नदीमा निर्माणाधीन पुलको कामले लियो गति

रौतहट : रौतहट जिल्लाको सदरमुकाम गौर र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथि निर्माणाधीन पुलको कामले लामो प्रतीक्षापछि गति लिएको छ । विगत करिब एक दशकदेखि प्राविधिक समस्या र ठेक्का प्रक्रियाको जटिलताका कारण अलपत्रजस्तै रहेको आयोजना यस वर्षदेखि भने तीव्र गतिमा अघि बढ्न थालेको हो ।

ncell

निर्माणस्थलमा अहिले आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी काम धमाधम भइरहेको छ । यसले स्थानीय बासिन्दामा वर्षौंदेखिको सपना साकार हुने अपेक्षा जगाएको छ ।

पुल नहुँदा ईशनाथ र गौर क्षेत्रका बासिन्दाले विशेषगरी वर्षायाममा निकै सास्ती खेप्दै आएका थिए । सामान्य कामका लागि समेत डुंगाको सहारामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता अब अन्त्यतर्फ उन्मुख भएको देखिन्छ ।

स्थानीयका अनुसार पहिले पुल निर्माणप्रति आशा नै हराइसकेको थियो, तर हालको कामको तीव्रताले पुनः विश्वास जगाएको छ । निर्धारित गतिमा काम अघि बढे केही समयमै पुल सञ्चालनमा आउने उनीहरूको अपेक्षा छ ।

यो पुल केवल आवागमन सहज बनाउने संरचना मात्र नभई क्षेत्रीय आर्थिक विकासको आधारका रूपमा पनि हेरिएको छ । पुल सम्पन्न भएपछि गौर र ईशनाथबीच व्यापारिक गतिविधि बढ्ने, कृषि उत्पादनले सहज बजार पाउने तथा दुई नगरबीचको दूरी घटेर समय र इन्धनको बचत हुने अपेक्षा गरिएको छ । साथै, ईशनाथ क्षेत्रका बासिन्दालाई शिक्षा र स्वास्थ्य सेवाका लागि सदरमुकाम पुग्न समेत सहज हुनेछ ।

यसअघि ठेकदारको लापरबाही र प्राविधिक चुनौतीका कारण पटक–पटक म्याद थपिँदै आएको आयोजनामा अहिले भने स्थानीय प्रशासन र सरोकारवाला निकायले निगरानी कडा पारेका छन् । निर्माण कम्पनीले पनि अनुकूल मौसमको सदुपयोग गर्दै मुख्य संरचनात्मक कामलाई प्राथमिकतामा राखेको जनाएको छ ।

पुल निर्माण सम्पन्न भएसँगै रौतहटको दक्षिणी भेगमा यातायात र कनेक्टिभिटीमा महत्वपूर्ण सुधार आउने तथा समग्र जिल्लाको आर्थिक विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

सम्बन्धित खबर