२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

बागमती कटान नियन्त्रणको स्पर निर्माण अलपत्र : दुर्गा भगवती-२ का बासिन्दा त्रासमा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख २ गते १७:०८
Shares
बागमती कटान नियन्त्रणको स्पर निर्माण अलपत्र : दुर्गा भगवती-२ का बासिन्दा त्रासमा

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ मा बागमती नदीको कटान नियन्त्रणका लागि प्रस्तावित स्पर निर्माण कार्य अझै सुरु हुन सकेको छैन । गत वर्षको बाढीले तटबन्धमा ठुलो क्षति पुर्‍याएपछि सुरक्षाका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि निर्माण कार्य अघि नबढ्दा स्थानीय बासिन्दा आगामी मनसुनलाई लिएर चिन्तित बनेका छन् ।

ncell

सम्बन्धित निकायमार्फत स्पर निर्माणका लागि ठेक्का सम्झौता भइसकेको भए पनि लामो समय बितिसक्दा निर्माण कम्पनी कार्यस्थलमा नदेखिएको स्थानीयको गुनासो छ । “टेण्डर भइसक्यो भन्छन्, तर फिल्डमा एउटा ढुंगासमेत खसेको छैन,” एक स्थानीयले भने, “बर्खा सुरु हुन धेरै समय बाँकी छैन, पानी बढेपछि काम गर्नै सकिँदैन ।”

गत वर्षको बाढीपछि बागमती नदीको बहाव सिधै बस्ती तर्फ मोडिएको छ । त्यसबेला तटबन्धको ठुलो भाग कटान भएपछि जोखिम अझ बढेको हो । समयमै स्पर निर्माण गरी बाँध सुरक्षित नगरे यस वर्षको बर्खामा नदी गाउँभित्र पस्ने खतरा रहेको स्थानीयको भनाइ छ । यसले सयौं परिवार विस्थापित हुनुका साथै ठुलो धनजनको क्षति हुने सम्भावना देखिएको छ ।

निर्माणमा भइरहेको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै स्थानीयले तत्काल काम सुरु गर्न माग गरेका छन् । उनीहरूले मनसुनअघि नै मुख्य संरचना निर्माण सम्पन्न गर्नुपर्ने, ठेकेदारको लापरबाही देखिए कारबाही गर्नुपर्ने र जनप्रतिनिधिले प्रभावकारी समन्वय गर्नुपर्ने माग अघि सारेका छन् ।

स्थानीयका अनुसार ठेकेदार र सम्बन्धित जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको ढिलासुस्तीले आफ्नो भविष्य अन्योलमा परेको छ । 

हाल दुर्गा भगवती-२ का बासिन्दा नदीको सतह र मौसमको अवस्थालाई नियाल्दै त्रासपूर्ण अवस्थामा दिन काट्न बाध्य छन् । निर्माण पक्ष र प्रशासनले कहिले सक्रियता देखाउँछन् भन्ने विषय भने अझै अनिश्चित बनेको छ ।

सम्बन्धित खबर