
रौतहट : नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनमाथि सरकारले पछिल्लो समय गरेको कडाइप्रति स्थानीय तहमा असन्तुष्टि बढ्न थालेको छ । सरोकारवालाहरूले यस्तो कदमले जनजीवनमा प्रत्यक्ष असर पारेको भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।
सीमावर्ती मधेश–तराई क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि व्यावहारिक कारणले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गर्दै आएका छन् । नेपालमा सवारी साधनको उच्च मूल्य र करका कारण कतिपयले भारतीय आफन्तको नाममा सवारी खरिद गरी घरायसी प्रयोजनमा प्रयोग गर्ने चलन रहँदै आएको छ । तर पछिल्लो समय प्रशासनले यस्ता सवारीको प्रयोगमा कडाइ गरेपछि स्थानीय नागरिकलाई आवागमनमा समस्या भएको गुनासो बढेको छ ।
स्थानीयहरूका अनुसार सीमा क्षेत्रको सामाजिक र पारिवारिक सम्बन्धका कारण दैनिक आवतजावत अनिवार्यजस्तै हुन्छ । नेपाल–भारतबीचको ‘बेटी–रोटी’ सम्बन्धका कारण वैवाहिक तथा पारिवारिक सम्बन्ध घनिष्ठ रहेकाले सवारी साधनको सहज प्रयोग आवश्यक हुने उनीहरूको भनाइ छ ।
यस विषयमा प्रतिक्रिया दिँदै जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्र यादव ले सरकारी कदमप्रति आपत्ति जनाएका छन् । उनले यस्तो निर्णयले मधेश–तराईका बासिन्दाको दैनिक जीवन थप जटिल बनाएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रको सामाजिक र भौगोलिक विशेषता ध्यानमा राखेर नीति बनाउनुपर्ने बताएका छन् ।
यादवले आर्थिक सीमितताका कारण विकल्पका रूपमा प्रयोग भइरहेका सवारीलाई कठोर रूपमा नियन्त्रण गर्नु उपयुक्त नहुने तर्क गरे । यस्ता कदमले स्थानीय तहमा असुरक्षा र असन्तुष्टि बढ्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।
यता, सीमावर्ती क्षेत्रका नागरिकहरूले सरकारलाई जनजीवनको यथार्थ अवस्था बुझेर व्यावहारिक समाधान खोज्न आग्रह गरेका छन् । उनीहरूले सुरक्षा र कानुन कार्यान्वयनको आवश्यकता स्वीकार्दै पनि त्यसका नाममा सर्वसाधारणलाई अनावश्यक दुःख नदिनुपर्नेमा जोड दिएका छन् ।
हालको अवस्थामा सीमा सुरक्षा र कानुनी व्यवस्था कायम राख्दै स्थानीय जनताको दैनिकी र सामाजिक सम्बन्धमा असर नपर्ने गरी सन्तुलित नीति आवश्यक देखिएको सरोकारवालाहरूको भनाइ छ ।