
रौतहट : मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिने गौरमा अटो तथा विद्युतीय सवारी (इभी) सञ्चालनका विषयमा नगरपालिका र व्यवसायीबीचको विवाद चर्किएको छ । सवारी सञ्चालनमा कडाइ गर्ने नगरपालिकाको तयारीसँगै साना सवारी चालकहरू आन्दोलनमा उत्रिएका छन् ।
गौर नगरपालिकाले बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई लक्षित गर्दै नयाँ नियम लागू गर्ने तयारी गरेपछि विवाद सुरु भएको हो । नगरपालिकाको भनाइ अनुसार निर्धारित रुटविपरीत अटो सञ्चालन र जथाभावी यात्रु ओसारपसारका कारण बस तथा म्याजिक जस्ता ठूला सवारीको व्यवसाय प्रभावित भएको छ ।
विशेषगरी गौर–चन्द्रपुर सडक खण्डमा तीनपांग्रे सवारी सञ्चालनमा लगाइएको रोकलाई प्रभावकारी बनाउन नगरपालिकाले कडाइ गरेपछि अटो व्यवसायीहरू असन्तुष्ट बनेका छन् । उनीहरूले उक्त निर्णयप्रति कडा आपत्ति जनाउँदै पुनर्विचारको माग गरेका छन् ।
सोमबार अटो व्यवसायी संघमा आबद्ध ठूलो संख्याका चालकहरूले नगरप्रमुख शम्भु साहसँग भेट गरी आफ्ना समस्या राखेका थिए । व्यवसायीहरूको गुनासो अनुसार नगरपालिकाले एकलौटी निर्णय गर्दै उनीहरूको रोजीरोटीमा असर पुर्याएको छ ।
अटो व्यवसायी संघका अध्यक्ष सुरेन्द्र साहले बिरामी बोकेर सेवा दिन समेत नपाउने गरी लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताए । “यात्रु जहाँबाट भए पनि गन्तव्यसम्म पुर्याउनु हाम्रो दायित्व हो, यस्तो रोकले सेवा प्रवाहमै समस्या उत्पन्न हुन्छ,” उनले भने ।
त्यस्तै, इभी चालक राहुल झाले नियमित कर तिरे पनि आफ्नै सहरमा निर्वाध रूपमा सवारी सञ्चालन गर्न नपाउनु दुखद भएको प्रतिक्रिया दिए । उनका अनुसार यसले चालकहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ ।
व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए गौर–चन्द्रपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।