
साउदी अरब : नेपाली राजदूतावास रियाद को आयोजना तथा गैरआवासीय नेपाली संघ (एनआएएनए) साउदी अरब को सहकार्यमा साउदी अरबको पूर्वी प्रान्तस्थित दम्माम मा आयोजित दुई दिने अस्थायी राहदानी (पासपोर्ट) सेवा शिविर सम्पन्न भएको छ ।
अप्रिल १७ र १८ मा सञ्चालन गरिएको उक्त शिविरबाट कुल १ हजार ६ सय ८१ जना नेपाली सेवाग्राही लाभान्वित भएका छन् । दूतावासका अनुसार शिविरमा १ हजार ४ जनाको विद्युतीय राहदानी (ई–पासपोर्ट) फारम संकलन, ६ सय ३४ जनालाई नवीकृत राहदानी वितरण तथा ४३ जनाको बहिर्गमन (एक्जिट) भिसा सम्बन्धी निवेदन संकलन गरिएको थियो ।
शिविरको पहिलो दिनमै सेवाग्राहीहरूको उल्लेख्य सहभागिता देखिएको थियो, जहाँ ५ सय ७७ जनाले नयाँ राहदानीका लागि आवेदन दिएका थिए भने ४ सय ५७ वटा तयार राहदानी वितरण गरिएको थियो ।
श्रम काउन्सिलर कविराज उप्रेतीको नेतृत्वमा सञ्चालित उक्त शिविरमा दूतावासका विभिन्न अधिकारीहरूको सहभागिता रहेको थियो ।

शिविर व्यवस्थापन तथा सहजीकरणमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव राजेन्द्र अर्याल तथा साउदी अरबको पूर्वी क्षेत्रमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू स्वयंसेवकका रूपमा खटिएका थिए ।
पूर्वी क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको यस शिविरले राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवा लिन रियाद सम्म पुग्नुपर्ने बाध्यतालाई केही हदसम्म सहज बनाएको आयोजकले जनाएको छ ।
टाढा–टाढाबाट आएका नेपाली श्रमिकहरूले आफ्नै कार्यस्थल नजिक सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।