
रौतहट : रौतहटको यमुनामाई गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण (लैससास) नीतिलाई थप प्रभावकारी बनाउन पाँच वर्षे विस्तृत कार्ययोजनाको पुनरावलोकन र लैसस समितिको विशेष बैठक सम्पन्न भएको छ ।
‘सशक्त महिला, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजित कार्यक्रम आसमान नेपालको आयोजना तथा गाउँपालिकासँगको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अनुराधा कुमारीले महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन लैससास नीतिको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले आगामी पाँच वर्षभित्र गाउँपालिकालाई लैंगिकमैत्री र समावेशी बनाउने लक्ष्यसहित तयार गरिएको कार्ययोजनाले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरिन् ।
बैठकमा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नीति, बजेट तथा योजनामा लैंगिक समानता र सामाजिक समावेशीकरणका विषयलाई कसरी प्राथमिकतामा राख्ने भन्नेबारे छलफल गरेका थिए ।
आसमान नेपालका तर्फबाट उर्वशी साह र सरस्वती दनुवारले कार्ययोजनाको पुनरावलोकन प्रस्तुत गर्दै नीतिलाई व्यवहारमा रूपान्तरण गर्न प्रशासनिक तथा राजनीतिक दुवै तहको सक्रियता आवश्यक रहेकोमा जोड दिए ।
पुनरावलोकन गरिएको कार्ययोजनामा लैससास नीति कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र तय गर्ने, समितिको सक्रियता बढाउने तथा जिम्मेवारी बाँडफाँट गर्ने, र प्रत्येक शाखाले आफ्ना कार्यक्रमहरूमा समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता समेटिएको छ ।
यस पहलले यमुनामाई गाउँपालिकामा सामाजिक न्याय प्रवर्द्धन गर्दै पछाडि पारिएका समुदायको सशक्तीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।