
काठमाडौँ : नेपालमा आधुनिक न्युरोसर्जरीको सुरुआत गर्ने अग्रणी व्यक्तित्व डा. दिनेशनाथ गोंगल अब हामीबीच रहेनन् । आज बिहान आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनले नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य गराएको छ ।
पुर्ख्यौली घर पाल्पा भएका गोंगलको जन्म १९८९ साल चैतमा काठमाडौँमा भएको थियो । काठमाडौँमा बीएस्सीसम्मको पढाइ सकेर उनी एमबिबिएस पढ्न, सन् १९५१ मा बिहारको दरभंगा मेडिकल कलेज गए । आफ्नै खर्चमा पढ्न पनि तयार भएका उनलाई छात्रवृत्तिले राहत दिलायो । १९५६ मा एमबिबिएस सकेपछि उनले एक वर्ष त्यहीँ सर्जरीमा हाउस काम गरे ।
त्यतिखेर नेपालमा डाक्टरको संख्या सीमित थियो । नेपालको चिकित्सा क्षेत्रका ‘सप्तऋषि’ भनेर चिनिने यज्ञराज जोशी, रघुवर वैद्य, दिनेशानन्द वैद्य, भरतराज वैद्य , भीमबहादुर प्रधान, द्वारिका मानन्धर र महेन्द्रप्रसाद बाहेक जितसिंह मल्ल र सिद्धिमणि दीक्षित, नर्वदालाल मास्के, गौरीशंकरलाल दास र एनडी जोशीलगायतका डाक्टरहरू थिए ।
उनी त्यही समयमा नेपाल फर्किएका हुन् । भारतबाट आएपछि छ महिना वीर अस्पतालमा ‘अनररी’ भएर काम गरे । एक वर्ष ललितपुर अस्पतालमा मेडिकल अफिसर भएर काम गरे । त्यो बेला डाइरेक्टर थिए, डा. रघुवर वैद्य । उनैको सल्लाहपछि उनी बम्बईको ग्रान्ट मेडिकल कलेजमा पढ्न गए र सन् १९६१ मा एमएस गरेर फर्किए ।
नेपाल फर्किएपछि उनले चिकित्सा क्षेत्रमा पूर्ण समर्पणका साथ काम थाले । सन् १९६१ को डिसेम्बरमा उनले नेपालकै पहिलो न्युरोसर्जरीहेड इन्जुरीको शल्यक्रिया सम्पन्न गरे । प्रारम्भिक प्रयास असफल भए पनि उनले हार मानेनन् । सन् १९६२ मा गरिएको ब्रेन ट्युमरको अपरेसन भने सफल भयो, जुन नेपालको चिकित्सा इतिहासमा महत्वपूर्ण उपलब्धि मानिन्छ । आइसियु, आधुनिक उपकरण र पर्याप्त जनशक्ति अभावका बीच उनले आफैं बिरामीको हेरचाह गरेका थिए ।
त्यतिबेला वीर अस्पताल एउटा पुरुष र अर्को महिला गरी दुई भागमा विभाजन गरिएको थियो । अस्पतालमा धेरैजसो बंगाली डाक्टर हुन्थे । रानी ऐश्वर्य, अधिराजकुमारी प्रेक्षा र पूजाको अपरेसन पनि वीर अस्पतालमै भएको थियो । ऐश्वर्यको गल ब्लाडरको अपरेसन उनीसहित डा. अन्जनीकुमार शर्माले गरेका थिए भने प्रेक्षाको एपेन्डिक्सको अपरेसन उनैले गरेका थिए । राणा खानदानका सदस्य भने त्यतिबेला पनि उपचारको लागि भारत नै जान्थे ।
उबेलाका राजाका परिवारको उपचार नेपालमा गरिन्थ्यो, सीमित स्रोत साधन थियो, अहिले सबैकुरामा सक्षम हुँदा हुँदै पनि नेपालका नेताहरू, पैसावालाहरू वीरको मुख हेर्दैनन् भन्दै उनले बेलाबेला गुनासो पोख्ने गर्थे । आफ्नै देशमा उपचार सम्भव हुँदासमेत विदेश नै जाने हो भने नेपालको मेडिकल क्षेत्रको प्रगति कसरी हुन्छ भन्दै उनी चिन्ता पनि व्यक्त गर्थे ।
सीमित स्रोतसाधनका बीच उनको प्रयासले नेपालमा मस्तिष्क तथा स्नायु रोगको शल्यचिकित्सालाई व्यवस्थित बनाएको थियो । उनको पहलमा नेपालमा पहिलोपटक व्यवस्थित रूपमा न्युरोसर्जरी विभाग स्थापना भएको मानिन्छ ।
उनले शल्यक्रिया र शिक्षणमै सीमित नरही अनुसन्धानमा पनि जोड दिए । नेपालमा पाइने मस्तिष्कसम्बन्धी रोगहरूको प्रकृति, कारण र उपचार पद्धतिबारे अध्ययन गर्न उनले प्रेरित गरे । त्यतिखेर दक्ष जनशक्ति, आवश्यक सामग्री, नर्सिङ स्टाफ, आइसियु केही थिएन । नर्स भारतबाट ल्याउनुपर्ने अवस्था थियो । अहिलेको जस्तो डिजिटल युग थिएन, सबै कुरा म्यानुअल्ली गर्नुपथ्र्यो । वीर अस्पतालको नयाँ भवन बनेपछि उनैको पहलमा हेड इन्जुरी वार्ड र न्युरोसर्जरी वार्ड सुरु भएको हो ।
२०४९ सालमा उनी रिटायर भए । यसबीचमा उनले ४० हजारजति अपरेसन गरिसकेका थिए । रिटायरपछि सामान्य जीवन बाँचिरहेका उनको आफ्नै क्लिनिक अथवा मेडिकल केही थिएन । पछि उनलाई तत्कालीन स्वास्थ्य मन्त्री रामकृष्ण ताम्राकारले वीर अस्पतालको अध्यक्ष भइदिनुपर्यो भनेर अनुरोध गरेपछि उनी पुनः वीरमा फर्किए । उनी तीन वर्ष वीर अस्पतालका अध्यक्ष भए । २०५९ सालमा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) गठन भयो । उनी त्यसमा पनि संस्थापक निर्देशक भए ।
आफ्नो करिअरमा न्युरोसर्जरीमा मात्र सीमित नभई उनले पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गरेका थिए । युवावस्थामा प्रजातान्त्रिक आन्दोलनमा पनि सक्रिय उनी जेलसमेत परेका थिए ।
२०६२–६३ को राजनीतिक परिवर्तनपछि उनी अस्पतालमा पनि दलीय भागवण्डा हुन थालेकोमा चिन्ता व्यक्त गर्थे । उनलाई नेतागिरीमा विश्वास गर्ने केही समूहले वीर अस्पतालमा प्रवेध निषेध नै गरिदिएका थिए । जसले वीरलाई आफ्नो जीवन ठान्यो, जिन्दगी दियो उसैलाई केही डाक्टरको समूहले ‘वीर अस्पताल निषेधित क्षेत्र’ घोषणा गरिदिए । त्यो घटनापछि उनी विरक्तिएका थिए । ‘जतिनै माया लागे पनि मलाई त्यो क्षेत्रप्रति वितृष्णा छ’, उनी नजिकका साथि तथा शुभचिन्तकसँग यसै भनि गुनासो पोख्थे ।
उनी मेडिकल शिक्षामा भएको व्यापारीकरणको विरोधमा थिए । हरेक पार्टीले मेडिकल कलेज खोलेको चर्चा सुनेका थिए उनले । यही कारण स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र विकृति बढेको उनको भनाइ थियो । उनले यो विकृति कसरी रोक्न सकिएला भन्दै चिन्तासमेत व्यक्त गर्थे । जीवनको अन्तिमसमय सम्म पनि उनी नेपालको चिकित्सा क्षेत्रकै चिन्तन गर्थे । चिकित्सा क्षेत्रमा उनले गरेको यही चिन्ता र योगदानको कदर गर्दै उनलाई ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट प्रथम, गोरखा दक्षिणबाहु (प्रथम, दोस्रो, तेस्रो तथा चौथा), महेन्द्र विद्याभूषणलगायतका पदकले सम्मान गरिएको छ ।