२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

रौतहटमा अवैध डिजेलसहित भारतीय मोटरसाइकल नियन्त्रणमा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख ८ गते २०:३३
Shares
रौतहटमा अवैध डिजेलसहित भारतीय मोटरसाइकल नियन्त्रणमा

रौतहट : रौतहट जिल्लाको इशनाथ नगरपालिका क्षेत्रमा प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको डिजेल र भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको छ । सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि सक्रिय प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार इशनाथ नगरपालिका–५ अन्तर्गत भित्री सडक खण्डमा प्रहरी चौकी जयनगरबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको बीआर ०६ बीजी २२५० नम्बरको मोटरसाइकल रोकी खानतलासी गरेको थियो ।

खोजतलासीका क्रममा मोटरसाइकलमा चारवटा प्लास्टिकका जर्किनमा राखेर भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको १०० लिटर डिजेल फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको डिजेलको अनुमानित मूल्य करिब २३ हजार ४ सय रुपैयाँ र मोटरसाइकलको मूल्यांकन ५० हजार रुपैयाँ रहेको छ । यससँगै कुल बरामद सामग्रीको मूल्य ७३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप वस्यालले घटनाको पुष्टि गर्दै बरामद डिजेल र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन गौर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य अन्तरका कारण पछिल्लो समय तस्करीका घटनाहरू बढ्दै गएकाले प्रहरीले निगरानी तथा चेकजाँच थप कडा बनाएको जनाएको छ । यसअघि पनि जिल्लाका विभिन्न नाकाबाट अवैध रूपमा भित्र्याइएका खाद्यान्न, लत्ताकपडा तथा इन्धन प्रहरीले पटक–पटक नियन्त्रणमा लिँदै आएको छ ।

सम्बन्धित खबर