२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

गौरमा शिक्षक-शिक्षिकालाई आँखा स्वास्थ्य तालिम, विद्यार्थीको दृष्टि बचाउन र रोग पहिचानमा जोड

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख ९ गते २०:२८
Shares
गौरमा शिक्षक-शिक्षिकालाई आँखा स्वास्थ्य तालिम, विद्यार्थीको दृष्टि बचाउन र रोग पहिचानमा जोड

रौतहट : जिल्लाको सदरमुकाम गौर नगरपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालयका शिक्षक–शिक्षिकाहरूका लागि एक दिने आँखा स्वास्थ्य सम्बन्धी विशेष जनचेतनामूलक तथा व्यावहारिक तालिम सम्पन्न भएको छ । विद्यालय स्तरमै विद्यार्थीहरूको आँखामा देखिने समस्याको प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । 

ncell

स्वस्थ आँखा उज्यालो भविष्य भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा आँखा सेवामा विद्यालय अभिभावक र स्वास्थ्य निकायको त्रिपक्षीय साझेदारी अपरिहार्य रहेको कुरामा जोड दिइएको छ ।

सेवा फाउन्डेसनको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति संघअन्तर्गत गौर आँखा अस्पतालद्वारा सञ्चालित आँखा स्वास्थ्य कार्यक्रमले बुधबार गौरस्थित जुद्ध माध्यमिक विद्यालयको सभाहलमा यो कार्यक्रम आयोजना गरेको थियो । तालिममा जुद्ध मावि, श्री माध्यमिक विद्यालय, बाल निकेतन स्कुल र गौर मोडेल स्कुलका शिक्षकहरूको संयुक्त स्थानीय आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

तालिममा सहभागी शिक्षक–शिक्षिकाहरूलाई बालबालिकामा देखिन सक्ने विभिन्न आँखा सम्बन्धी जटिलताहरूका बारेमा विस्तृत प्रशिक्षण दिइएको थियो। जसमा मुख्यतया निम्न विषयहरू समावेश थिएः मोतिविन्दु, जलविन्दु, टेढो आँखा र दृष्टिदोष,  विद्यालयमै विद्यार्थीको दृष्टि परीक्षण गर्ने (ख्ष्कष्यल क्अचभभलष्लन) विधि र प्रक्रिया, आँखामा चोटपटक लाग्दा तत्काल गर्नुपर्ने प्राथमिक उपचार र औषधि सुरक्षित राख्ने तरिका,  मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकाको आँखामा पार्ने दीर्घकालीन असर र त्यसबाट बच्ने उपाय, गर्मी मौसममा देखिने आँखा पाक्ने रोग र एलर्जीका बारेमा जानकारी गराएका थिए । 

शिविरका संयोजक एवं गौर आँखा अस्पतालका अनुभवी प्रशिक्षक सत्येन्द्र पाण्डे र शिवकुमार यादवले सहभागीहरूलाई सैद्धान्तिक र व्यावहारिक अभ्यास गराएका थिए । प्रशिक्षणका क्रममा बालबालिकाको दृष्टि कमजोरीलाई समयमै कसरी चिन्ने र विद्यालय स्तरमा जनचेतना कसरी फैलाउने भन्ने विषयमा डेमो समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गौर नगरपालिका क्षेत्रभित्रका विभिन्न ४३ जना शिक्षक–शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

तालिममा सहभागी शिक्षकहरूले यो कार्यक्रम निकै फलदायी रहेको बताए । सहभागी एक शिक्षकका अनुसार धेरैजसो विद्यार्थीहरूमा दृष्टि कमजोरी भए पनि उनीहरूले व्यक्त गर्न सक्दैनन्, जसका कारण उनीहरूको पढाइमा समेत असर परिरहेको हुन्छ । यो तालिमपछि हामीले विद्यार्थीको समस्या पहिचान गरी अभिभावकलाई सचेत गराउन र समयमै उपचारका लागि अस्पताल पठाउन सक्ने आत्मविश्वास बढेको छ ।

विज्ञहरूका अनुसार बालबालिकाको आँखामा लाग्ने रोगको समयमै पहिचान हुन सके उपचार सहज हुने र भविष्यमा हुन सक्ने अन्धोपनको जोखिमलाई न्यून गर्न सकिन्छ । यस किसिमको तालिमले समग्र समाजमा आँखा स्वास्थ्य प्रतिको चेतना अभिवृद्धि गर्न कोशेढुंगा सावित हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खबर