२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

प्रहरी हिरासतमा दलित युवकको मृत्यु : परिवार भन्छ हत्या, प्रहरी भन्छ आत्महत्या

Nada
भावना पाठक
२०८३ वैशाख ११ गते १६:५८
Shares
प्रहरी हिरासतमा दलित युवकको मृत्यु : परिवार भन्छ हत्या, प्रहरी भन्छ आत्महत्या

काठमाडौँ : सत्तारुढ दलका सांसद खगेन्द्र सुनार र रीमा विश्वकर्मा न्याय माग्न सिन्धुली पुगेका छन् । अन्तरजातीय विवाहका कारण ज्यान गुमाएका २२ वर्षीय श्रीकृष्ण विकको न्यायका लागि उनीहरू सिन्धुली पुगेका हुन् । 

ncell

विकको लागि न्याय माग्न सिन्धुली पुगेका सांसदद्वय सुनार र ‘विश्वकर्माले दलित मार्न पाइदैन’, ‘श्रीकृष्णलाई न्याय दे’ जस्ता नारा लगाएका छन् । ‘मृतकको शरीरमा धेरै ठाउँमा चोट थियो’ सुनार भन्छन्, ‘आफूले आफैंलाई मार्न त्यति धेरै चोट लाउनु पर्दैन । यो सरासर हत्या हो । प्रहरीको कस्टडीभित्र एक दलितको हत्या भएको छ ।’ उनले एसपीको हात र जिब्रो कामेको बताउँदै न्यायप्रणालीमाथि संका लागेको उल्लेख गरे । 

निष्पक्ष छानबिन नभए एसपीलाई घिसारेर लैजाने अभिव्यक्ति उनले दिए । उनको यो अभिव्यक्तिमाथि अहिले चौतर्फी विरोध भएको छ । सांसद जस्तो पदमा भएको व्यक्तिले सार्वजनिक पद धारण गरेर बसेको प्रहरी र प्रशासनलाई प्रयोग गरेको भाषा निम्नस्तरको भएको भन्दै विरोध भएको हो । 

सामान्य रुपमा घाँस दाउरा गर्ने मान्छेले मान्छे मार्दा कारवाही हुन्छ भने कस्टडीभित्र मान्छे मार्ने प्रहरीलाई कारबाही हुन्छ कि हुँदैन भनेर उनले प्रश्न गरेका छन् । सामान्य दलितको छोराले बिहे गरेकै आधारमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुन उनले कानुनलाई सघाउनुपर्ने बताए । हत्यारालाई कानुन अनुसारको कारबाही गर्न माग गर्दै उनले यदी त्यसो भएन भने आन्दोलन गर्ने चेतावनी दिए । उनले अनुसन्धानमा नसघाउने प्रमुख जिल्ला अधिकारीको राजीनामा समेत माग गरे । उनले अपराध गर्ने प्रहरी प्रशासन र सिडियोमाथि आक्रोश पोख्दै तत्काल निलम्बन गरी उनीहरूमाथि छानबिन गर्नुपर्ने आवाज उठाए । 

आफ्नै पार्टी रास्वपाको बहुमतको सरकार हुँदा हुँदै पनि उनले न्यायको लागि सडकमा आवाज उठाएको कतिपयले मन पराएका छैनन् । कानुनलाई सडकबाट चेतावनी दिने उनको पुरानो शैलीलाई उनकै शुभचिन्तकले त्यति राम्रो नमानेको उनका पोस्टहरूमा आएको कमेन्टले पनि बताउँछ । 

सुनारसँगै सांसद रीमा विश्वकर्मा पनि सिन्धुली पुगेकी छन् । खगेन्द्रको आवाज र नारामा साथ दिँदै उनले हत्यारालाई कारबाही, प्रहरी र सिडियोलाई निलम्बन गरी छानबिन गर्नुपर्ने माग गरिन् । उनले सामाजिक सञ्जालमा पनि दलितमाथिको विभेद पनि अस्वीकार्य भएको उल्लेख गरेकी छन् । 

दलितको लागि न्याय माग्दा सुनार र विश्वकर्माले कानुलाई भने अपहेलना गरेको कतिपयको निष्कर्ष छ । सामान्य मान्छेले पनि बोल्न नहुने निम्नस्तरको भाषा प्रयोग गरेको भन्दै उनीहरूको विरोध हुन थालेको छ । 

न्यायको माग गदैँ पीडित परिवारसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विहिबार र शुक्रबार दिउँसो ३ बजेसम्म जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा धर्ना दिएका थिए । संघिय सांसदहरू आशिष गजुरेल, धनेन्द्र कार्की, खगेन्द्र सुनार, रीमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक र खिमा विश्वकर्मासहित पीडित पक्षले न्यायको माग गरेका थिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति गठन भएपछि आन्दोलन स्थगित गरेर मृतकको शव काठमाडौँ  ल्याउन सहमति गरेका छन् । 

भएको के थियो?

अन्तरजातीय विवाह गरेका विकको प्रहरी हिरासतमा मृत्यु भएको थियो । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुमिडाँडा घर भई ललितपुरको इमाडोल बस्दै आएका विक र खोटाङ घर भई काठमाडौँ बस्ने १७ वर्षिया निर्जला मगरले चैत २८ गते प्रेम विवाह गरेका थिए । 

गत वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकको शव शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।  परिवार र अधिकारकर्मीहरूले यसलाई सुनियोजित हत्याको आशंका गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

वैशाख ३ गते  मिलापत्रका लागि बोलाएको जिल्ला प्रहरी कार्यालय ललितपुरले उनलाई नियन्त्रणमा लिएर सिन्धुली पठायो । जिल्ला अदालत सिन्धुलीमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर हिरासतमा राखिएकै बेला उनको मृत्यु भयो । झुन्डिएको अवस्थामा उनको शव भेटिए पनि परिवारले आत्महत्या नभई हत्या भएको जिकिर गरेको छ । प्रहरीले भने आत्महत्या नै गरेको बताउँदै आएको छ । 

मृतककी आमा बिन्दामाया विकका अनुसार प्रहरीले जबरजस्ती करणीको बयानमा सही गर्न शारीरिक र मानसिक यातना दिँदै आएको थियो । यातना सहन नसकेर विकको मृत्यु भएको तर प्रहरीले आत्महत्या भएको गलत रिपोर्ट बनाएको परिवारको आरोप छ । 

युवतीका परिवारले जबरजस्ती करणीको उजुरी दिएपछि श्रीकृष्णलाई पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो । उनी गत शुक्रबारदेखि खुर्कोट प्रहरी हिरासतमा रहेका थिए । उमेर नपुगेको भने पनि उजुरीको मुख्य कारण अन्तरजातीय विवाह भएको विकका परिवारको भनाइ छ । कानुनी रूपमा हेर्दा उमेर नपुगी विवाह गरेको अवस्थामा बालविवाहको मुद्दा चलाउने विकल्प हुँदाहुँदै प्रहरीले सिधै करणीको मुद्दा चलाएको परिवारको आरोप छ । 

राज्यले दलितमाथि गरेको विभेदका विरुद्धमा रास्वपा सभापति तथा प्रतिनिधि सभाका सांसद रवि लामिछानेले सार्वजनिक रूपमा माफीसमेत मागिसकेका छन् । तर दलितमाथि हुने विभेद र हिंसा भने उस्तै रहेको दलित अभियन्ताहरू बताउँछन् । 

ताजा खबर

सम्बन्धित खबर