
काठमाडौं : सरकारले शनिबार उपत्यकाका मुख्य सुकुम्वासी बस्ती खाली गराएको छ । त्यसका लागि दर्जन धेरै डोजर प्रयोगसहित नगर, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएका थिए । काठमाडौंको थापाथलीबाट सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरिएको थियो । काठमाडौं–९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका सुकुम्वासी बस्ती पनि खाली गर्ने क्रममै छन् ।
यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार, बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्यांक अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ घरधुरी अनधिकृत रुपमा बसोबास गर्दैआएका थिए ।
विगतमा सुकुम्बासी वस्तीमा झडप र प्रदर्शन हुने गरेको भए यसपटक भने कुनै अप्रिय घटना भएन् । थापाथलीका वस्तीका नागरिकले प्रशासनको निर्णयलाई सहयोग गरिएको देखियो । आश्रय लिने ठाउँ भएका व्यक्तिहरु आफै सामान लिएर वस्ती छाडेका थिए । आश्रय लिने ठाउँ नभएका र जाने ठाउँ नभएकाहरुलाई भने प्रहरीले बस्तीबाट सामान सुरक्षित राख्नेदेखि बैकल्पिक स्थानहरुमा पुर्याउनसमेत सहयोग गरेको थियो । विपन्न परिवारमा रुवाबासी थियो, आक्रोश र अनिश्चय थियो । तर, उनीहरु प्रतिवाद गर्ने स्थितिमा भने थिएनन् ।
सरकारले भक्तपुरको मनोहरास्थित सुकुम्वासी बस्ती पनि खाली गराएको छ । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुम्वासीले सुरुमा आक्रोश पोखे । बिरोध पनि जनाए । तर, डोजर पछि हट्ने स्थिति नदेखेपछि आफै बस्ती खाली गरेका थिए ।
सरकारको सुकुम्वासी बस्ती खाली गराउने अभियान मनोहरा नपुग्दै ७ सय ७७ परिवारले बस्ती छाडेको जिल्ला प्रहरी परिसर भक्तपुरको दाबी छ । तर, बस्ती हटाउने क्रममा भने बस्तीबासीले प्रहरीमाथि ढुंगामुडा गरेका थिए । त्यस क्रममा केही प्रहरी घाइतेसमेत भएका छन् । प्रहरीले माइकिङ गरी बस्ती छाड्न र वास्तविक सुकुम्वासी सरकारको सम्पर्कमा आउन आग्रह गरेको थियो । त्यस्तै तीनकुने गैह्रीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर लगाएर खाली गराइएको थियो ।
नदी किनारबाट हटाइएका सुकुमवासीका सामान कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ । सुकुम्बासी परिवारहरुलाई सुरुमा होटलमा राखिने र उनीहरु वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्ट र अन्य सुरक्षित स्थानमा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने काठमाडौं महानगरले जनाएको छ ।
रंगशालामा सुकुम्वासीको विवरण संकलन
सरकारले काठमाडौं उपत्यकाभित्रका मुख्य सुकुमवासी बस्तीहरू खाली गराउने अभियान सुरु गरेसँगै प्रभावित स्थानका बासिन्दाहरू धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्यांकअनुसार थापाथलीका ६८ परिवार शनिबार साँझसम्म सरकारी सम्पर्कमा आएका छन् । ती परिवारहरूले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् । उनीहरूको ‘स्क्रिनिङ’का लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष व्यवस्था गरेको छ ।
विभिन्न स्थानका सुकुम्वासीहरूका लागि फरक–फरक डेस्क स्थापना गरी विवरण संकलन कार्य भइरहेको छ । सरकारी टोलीका अनुसार रंगशालामा विवरण संकलन कार्य सम्पन्न भएपछि ती परिवारहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ । उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तिब्रता दिएको छ । होल्डिङ सेन्टरमा आएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ । सरकारले विवरण संकलन रयस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्धन केन्द्र खुला रहेका छन्, जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदैछ ।
बैशाख १२ को संयोग
काठमाडौंबासीले १२ बैशाखलाई झट्ट बिर्सन सक्दैनन् । २०७२ सालको १२ बैशाखमा भुकम्प आएको थियो । दशकपछि २०८३ सालमा बागमती र मनोहरा किनारका सुकुम्बासी बस्ती भत्काउन डोजर आयो । भुकम्पले धनि–गरिव छुट्याएन् तर डोजरले छुटायो । जहाँ सुकुमवासी बस्ती छन्, त्यहाँ खोजी–खोजी डोजर पस्यो । भुकम्पका बेला सर्वसाधारण भाग्न पाएनन् । सरकारले २४ घण्टे सूचना दिएर डोजर आउँदा पनि अति विपन्न र वास्तविक सुकुम्बासी भाग्न चाहेनन् । कारण– गरिवको जाने ठाँउ हुदैन् । ती बस्तीमा बस्नेमध्ये कति वास्तविक हुन् वा हैनन्, सरकारले पहिचान गर्ला । तर, ती सहरी विपन्न र भूमिहीनहरु कँही जाने ठाँउ नभएरै नदी किनारमा बाँस र टिनका टहरा बनाएर बसेका थिए । भुकम्पले हल्लाउन नसकेका ती टहरा डोजरले एकै पलमा सखाप पारिदिए ।
थापाथलीमा दुई दशकदेखि बस्दै आएकामध्येका एक हुन्, पाकचा तारिम । सरकारले बस्ती छाड्न माइकिङ गरे पनि उनको जाने ठाँउ काँही पाएनन् । प्रहरी शनिवार डोजर लिएर उनको हटरा भत्काउन पुग्यो । प्रहरीले नै उनको टहरामा रहेका सामान सार्न सघायो । सामान झिकेर खाली ठाउँमा राखियो । अघिल्लो रातभर उनी सुत्क सकेका थिएनन् । अनिश्चित भविष्यको चिन्ताले आफू रातभर रोएको उनी बताउँछन् । आफैले दुःख गरेर ठड्याएको टहरा डोजर लगाएर भत्काएको हेर्दा उनी भक्कानिएर रोए ।
२० वर्षअघि उनी नागरिकता लिएर बस्तीमा छिरेका थिए । शनिबार टहरा छाड्दा पनि उनको साथमा नागरिकता मात्र बाँकी थियो । जानै काहीँ विकल्प नभएपछि उनले मध्यान्हसँग भनेका थिए , ‘अब के रह्यो र ? सरकारले जहाँ लग्छ, त्यही जान तयार छु ।’