२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

साउदीबाट क्यान्सर पीडित  गैरेलाई रु. १ लाख ५५ हजारभन्दा बढी सहयोग, अभियान सम्पन्न

Nada
अन्जान गुभाजु
२०८३ वैशाख १३ गते ०८:३६
Shares
साउदीबाट क्यान्सर पीडित  गैरेलाई रु. १ लाख ५५ हजारभन्दा बढी सहयोग, अभियान सम्पन्न

साउदी : गम्भीर प्रकृतिको क्यान्सर रोगसँग जीवन–मृत्युको संघर्ष गरिरहेका पाल्पाका जीत बहादुर नेपाली (गैरे) का लागि साउदी अरबमा कार्यरत नेपालीहरूबाट उल्लेखनीय मानवीय सहयोग जुटेको छ । विभिन्न चरणमा संकलित सहयोग रकम पछिल्लो अद्यावधिक अनुसार रु. १ लाख ५५ हजार ५३० पीडितकी श्रीमती हेमकला नेपालीको बैंक खातामा पठाइएको अभियन्ताहरूले जानकारी दिएका छन् ।

ncell

साउदीमा सक्रिय समाजसेवी पदम बहादुर महत र बिरेन्द्र कुमारी चौधरीको पहलमा सञ्चालन गरिएको सहयोग अभियानमार्फत सुरुमा रु. १ लाख १३ हजार ८६४ संकलन गरिएको थियो । त्यसपछि थप सहयोग रकम जुट्दै जाँदा कुल संकलन रकम रु. १ लाख ५५ हजार ५३० पुगेको हो । अभियन्ता चौधरीका अनुसार पछिल्लो ट्रान्सफर गरिएको यही रकमलाई आधिकारिक मानी सहयोग अभियान औपचारिक रूपमा सम्पन्न गरिएको छ ।

पाल्पाको साविक दर्छा गाउँ विकास समिति–१, हाल रामपुर नगरपालिका–३ का ४३ वर्षीय जीत बहादुर नेपाली (गैरे) वैदेशिक रोजगारीका क्रममा साउदी अरबस्थित एक कम्पनीमा कार्यरत थिए । परिवारको उज्ज्वल भविष्यको आशामा परदेशमा श्रम गरिरहेका उनी अचानक क्यान्सर रोगबाट पीडित भएपछि आर्थिक संकटमा परेका हुन् ।

प्रारम्भिक उपचार साउदीमै गरिए पनि रोग जटिल बन्दै गएपछि उनलाई नेपाल लागिएको थियो । हाल उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उपचार प्रक्रिया लामो र खर्चिलो हुने भएकाले आर्थिक सहयोग अपरिहार्य देखिएको छ ।

“सानो सहयोगले पनि एउटा अमूल्य जीवन जोगाउन ठूलो भूमिका खेल्न सक्छ,” भन्ने सन्देशसहित सुरु गरिएको यस अभियानले पीडित परिवारमा आशा र भरोसा थपेको छ ।

साउदीमा सन्चालित अभियान औपचारिक रूपमा सम्पन्न भइसके पनि सहयोगी मनहरूको साथ, सद्भाव र प्रार्थनाले पीडितको स्वास्थ्य लाभमा सकारात्मक ऊर्जा मिल्ने विश्वास परिवारले व्यक्त गरेको छ ।

सम्बन्धित खबर