
रौतहट : गंगापिपरास्थित सार्वजनिक पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु भएको छ । घटना आइतबार साँझ दुर्गा भगवती गाउँपालिका वडा नं. १ मा भएको हो ।
स्थानीय गौरीशंकर साह कलवारका छोरा कृष्ण कुमार साह (कृष) साँझ करिब ६ बजे ब्रह्मस्थान नजिक रहेको पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा अचानक गहिरो पानीमा पुगेपछि उनी बेपत्ता भएका थिए ।
बालक हराएको जानकारी पाएलगत्तै परिवारजन र स्थानीयवासीले खोजी सुरु गरेका थिए । स्थिति गम्भीर बन्दै गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली घटनास्थलमा पुगेको थियो ।
स्थानीय र सुरक्षाकर्मीको करिब ४५ मिनेटको प्रयासपछि बालकलाई पानीमुनिबाट निकालिएको थियो । तत्कालै उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाएको जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।