२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

जिउँदो व्यक्तिलाई मृत घोषणा गरेर अनियमितता, वडा अध्यक्षसहित चार जना पक्राउ

Nada
विनोद निगम
२०८३ वैशाख १५ गते २१:०१
Shares
जिउँदो व्यक्तिलाई मृत घोषणा गरेर अनियमितता, वडा अध्यक्षसहित चार जना पक्राउ

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा जिउँदो व्यक्तिलाई मृत देखाएर सरकारी अभिलेखमै मृत्यु दर्ता गरिएको गम्भीर अनियमितता सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा वडा अध्यक्ष प्रभुनाथ यादव र वडा सचिव संजय कुमार चौधरीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुटा विवरण पेस गरी गैरकानुनी रूपमा मृत्यु दर्ता गराइएको अभियोगमा मुद्दा दर्ता गरिएको हो । उक्त ऐनले सरकारी अभिलेखमा गलत सूचना प्रविष्ट गराउने कार्यलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरेको छ ।

पक्राउ पर्नेहरूमा ३१ वर्षीय तारिख मियाँ अन्सारी, ५५ वर्षीय छोटे खाँ, वडा अध्यक्ष यादव र वडा सचिव चौधरी रहेका छन् । अन्सारीलाई चैत ३० गते नै नियन्त्रणमा लिइएको थियो भने छोटे खाँलाई वैशाख १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछिल्लो चरणमा वडा अध्यक्ष र सचिवलाई सोमबार पक्राउ गरिएको हो ।

प्रहरीले जिल्ला अदालत नवलपरासीबाट अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र अन्य व्यक्तिको संलग्नता पनि हुन सक्ने भन्दै प्रमाण संकलन कार्य तीव्र पारिएको छ ।

प्रारम्भिक अनुसन्धानले सरकारी पञ्जीकरण प्रणालीमै योजनाबद्ध रूपमा जालसाजी गरी जिउँदो व्यक्तिलाई मृत घोषणा गरिएको देखाएको छ । यस्तो कार्यले सामाजिक सुरक्षा भत्ता, सम्पत्ति अधिकार तथा नागरिक पहिचानजस्ता संवेदनशील क्षेत्रमा गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

स्थानीयवासीहरूले सामान्य प्रशासनिक प्रक्रियामै यस्ता खालका अनियमितता हुनु राज्य संयन्त्रको कमजोरीको संकेत भएको बताएका छन् । उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

यस घटनाले स्थानीय तहको जवाफदेहिता, सरकारी अभिलेख प्रणालीको विश्वसनीयता र सेवा प्रवाहको पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ । सरोकारवाला निकायहरूले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी निगरानी र प्रणाली सुधार आवश्यक रहेको बताएका छन् ।

सम्बन्धित खबर