२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

छैन विपद् उद्धारका आधुनिक सामग्री, नयाँ आर्थिक वर्ष कुर्दै प्राधिकरण

Nada
सपना बोहरा
२०८३ वैशाख २० गते ०६:२०
Shares
छैन विपद् उद्धारका आधुनिक सामग्री, नयाँ आर्थिक वर्ष कुर्दै प्राधिकरण

काठमाडौं : पछिल्लो केहीदिनयता देशका विभिन्न भूभागमा भारी वर्षा सुरु भएको छ । हावाहुरीसहित वर्षा सुरु भएसँगै नदी एवं खोला किनार तथा पहाडमा घर भएकाहरू त्रसित भएका छन् । यस वर्षको मनसुन सुरु भएपछि वर्षात् र हावाहुरीका कारण प्राकृतिक विपद्का घटना बढ्दो क्रममा छ । मनसुन सुरु भइसकेको छ । विपद्का घटना बढ्दै गएका छन् । तर, विपद् आइहाल्यो भने तत्काल उद्धार गर्ने आधुनिक सामग्री छैन । 

ncell

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आधुनिक उपकरण खरिद गर्नका लागि नयाँ आर्थिक वर्ष कुरिरहेको छ । प्राधिकरणले तत्काल उद्धार गर्नका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि योजना बनाएको छ । तर, योजना पास हुनका लागि साउन महिना पखिर्नुपर्नेछ । सामान्य विपद्मा उद्धार परेकाहरूको उद्धार गर्नका लागि आधुनिक उपकरण र सामग्रीको अभाव हुँदै गएको छ । सोही कारण अझैसम्म पनि पूर्वतयारी गरिएको छैन । आफ्नो ज्यानको परवाह नगरी नागरिकको उद्धारमा खटिँदा आवश्यक पर्ने पर्याप्त उपकरणअभाव भएको सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट बताउँछन् । 

दैवी प्रकोप उद्धारमा गोताखोरको विज्ञता भए पनि उद्धार सामग्री अभाव छ । सरकारले वार्षिक बजेट छुट्याए पनि सामग्री अभावका कारण उद्धारमा ढिलाइ भएको प्राधिकरणको भनाइ छ । प्रवक्ता शान्ति महत भन्छिन्, ‘विपद्मा आवश्यक पर्ने आधुनिक उपकरण सामग्रीको अभाव छ । जसका कारण उद्धारमा ढिलाइ भएका धेरै घटना छन् ।’ अघिल्ला वर्षका घटनाले पनि विपद्मा उद्धारका लागि उपकरणको अभाव खड्किएको उनी बताउँछिन् ।

गत फागुन १२ गते राति पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना भयो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, बेनिघाट रोराङ गाउँपालिका क्षेत्रअन्तर्गत चरौंदीनजिक भैंसेडाँडा स्थानमा ग२ख १२३१ नम्बरको बस राति १ बजे सडकबाट अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । धादिङबाट काठमाडौं आउन दुई घण्टा मात्रै लाग्छ । तर दुर्घटनामा परेको उक्त बस र यात्रुलाई उद्धार गर्न १२ घण्टा लाग्यो । विपद् प्रतिकार्यका सामग्री नहुँदा समयमा उद्धार हुन सकेन । जसमा १७ जनाले घटनास्थलमा ज्यान गुमाए । त्यो घटना विपद् प्राधिकरणलाई पनि खड्किरहन्छ कि समयमा उद्धार हुन सकेको भए ठुलो संख्यामा ज्यान जाने थिएन । प्राधिकरणसँग आधुनिक उपकरण नहुँदा स्ट्रेचरको सहायतामा बिहान १० बजे मात्रै उद्धार गरेर अस्पताल पु¥याइएको थियो । उद्धार प्रतिकार्य सामग्रीअभावको चौतर्फी विरोध भएको थियो । ‘धादिङमा भएको दुर्घटनाले आधुनिक उपकरणको खाँचो देखायो । उपकरण नहुँदा समयमा उद्धार हुन सकेन,’ उनले भनिन्, ‘त्यसबाहेक अन्य बाढी तथा दुर्घटनाहरूले उपकरणको आवश्यकता देखाएको छ ।’ 

विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामग्री भए पनि ती पर्याप्त नभएको उपसचिव महत बताउँछिन् । त्यसका लागि स्थानीय तह, प्रहरी, नेपाली सेनासँग आवश्यक पर्ने उद्धार सामग्रीको विवरण माग गरेको उनले बताइन् । वर्षा सुरु भएसँगै उद्धार सामग्रीका लागि पनि छलफल भइरहेको उनले बताइन् । 

बितेका १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । यही वैशाख १ गतेदेखि १६ गतेसम्म मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटेका छन् । प्राधिकरणका अनुसार, उक्त अवधिमा ८२९ परिवार प्रभावित भएका छन् । घटनाबाट करिब  १० करोड ९२ लाख ५५ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । घटनाको प्रकृतिअनुसार आगलागी सबैभन्दा बढी देखिएको छ ।

आगलागीका मात्रै २६७ घटना हुँदा आठजनाको मृत्यु भएको छ भने ठुलो धनमालको क्षति भएको छ । आगलागीबाट मात्रै झन्डै नौ करोड ७५ लाखबराबरको क्षति भएको छ । त्यस्तै, चट्याङका ७४ घटनामा नौजनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन् । हुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् भने करिब ८३ लाख रुपैयाँको क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर