२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सीपको भरमा आत्मनिर्भरता : कपाल काटेरै राम्रो कमाइ

Nada
विनोद निगम
२०८३ वैशाख २३ गते २१:३७
Shares
सीपको भरमा आत्मनिर्भरता : कपाल काटेरै राम्रो कमाइ

नवलपरासी : ‘सीप भए यही कमाइन्छ’ भन्ने उखानलाई व्यवहारमै उतार्दै पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१, महेशपुरका सैलुन व्यवसायीहरू आत्मनिर्भर जीवनतर्फ अघि बढिरहेका छन् । 

ncell

सीपलाई नै पूँजी बनाएर सुरु गरिएका साना सैलुनहरू अहिले उनीहरूको मुख्य आम्दानीको स्रोत बनेका छन् । स्थानीय बजारमै केन्द्रित यी व्यवसायमा नवलपरासीका विभिन्न गाउँका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत ग्राहक आउने गरेका छन् । सहज पहुँच, सस्तो मूल्य र गुणस्तरीय सेवाका कारण सैलुनहरू लोकप्रिय बन्दै गएका छन् । 

महेशपुर बजार क्षेत्रमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल देखिन्छ । चाडपर्व, विवाह तथा सामाजिक कार्यक्रमका बेला व्यवसाय अझै व्यस्त हुने व्यवसायीहरूको भनाइ छ । समयसँगै ग्राहकको रुचि परिवर्तन हुँदै जाँदा व्यवसायीहरूले पनि आधुनिक उपकरण र नयाँ फेसनअनुसारका हेयर स्टाइल सेवा विस्तार गरेका छन् । 

स्थानीय युवा पुस्तामा फेसनप्रतिको आकर्षण बढेसँगै ‘फेड कट’, ‘अन्डरकट’, स्टाइलिस दाह्री डिजाइनजस्ता सेवाको माग बढ्दो छ । कलेज जाने विद्यार्थीदेखि वैदेशिक रोजगारीबाट फर्किएका युवासम्म आधुनिक शैलीमा कपाल काट्न रुचाउने गरेको व्यवसायीहरू बताउँछन् । 

एक दशकभन्दा बढी समयदेखि सैलुन व्यवसायमा संलग्न सद्दाम हुसेन धुनियाका अनुसार सुरुका दिनमा निकै संघर्ष गर्नुपरे पनि अहिले यही पेशाबाट राम्रो आम्दानी भइरहेको छ । उनले हालसम्म ९ जना युवालाई सीप सिकाएर आत्मनिर्भर बन्न सहयोग गरेको पनि बताए ।

‘सीप सिकेपछि विदेश धाउनुपर्ने बाध्यता हुँदैन, आफ्नै गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ,’ उनले भने । 

स्थानीय बासिन्दाका अनुसार साना लगानीमा सुरु गर्न सकिने यस्ता व्यवसायले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । तर, व्यवसाय विस्तारका लागि अझै तालिमको अभाव, आधुनिक उपकरणमा लगानी कठिनाइ र बजार व्यवस्थापनजस्ता चुनौती रहेको व्यवसायीहरूको गुनासो छ ।

स्थानीय तहले सीपमूलक तालिम, सहुलियत ऋण तथा व्यवसाय प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिन सके यस्ता साना व्यवसाय अझ सुदृढ हुने अपेक्षा गरिएको छ । यसले रोजगारीका लागि विदेशिने प्रवृत्ति पनि घटाउन सक्ने विश्वास व्यक्त गरिएको छ ।

महेशपुरका सैलुन व्यवसायीहरूको उदाहरणले सीप, मेहनत र निरन्तरताले स्थानीय स्तरमै आत्मनिर्भरता सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको छ ।

सम्बन्धित खबर